Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

यातायात मजदुरहरुले काठमाडौंमा आह्वान गरेको यातायात बन्द कार्यक्रम फिर्ता


काठमाडौं । यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिए ।

यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेज लगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए । सोही आन्दोलनको क्रममा बालाजु माछापोखरी क्षेत्रमा आगजनी र तोडफोडका घटना भएका थिए । बेलुकीपख एक हुल ल्होत्से मलमा प्रवेश गरी पसलहरु तोडफोड समेत गरेको थियो ।

यातायात मजदुरहरुले आज काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द आह्वान समेत गरेका थिए । समस्या समाधानका लागि आज बिहानैदेखि सिंहदरबारमा सरकार र यातायात मजदुरका प्रतिनिधिहरुबीच वार्ता भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #यातायात मजदुर


तपाईको कमेन्ट लेख्नुहोस्