प्रतिनिधि सभा बैठक : नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताउनु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिनुहुँदै नेता पौडेलले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा सबै दल एक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले मुलुकको कमसल आर्थिक अवस्था, भूराजनीतिक दबाब, सुशासनको कमजोर अवस्थालाई सुधार गर्न र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न दलहरुबीच एकताको खाँचो रहेको पनि बताउनुभयो ।
नेकपा (एमाले) का नेता रघुवीर महासेठले वर्तमान सरकारले छोटो समयमा नै शुरु गरेका कामहरूले अहिलेको सरकारले केही गर्छ कि भन्ने जनतामा आशा र विश्वास पलाएको बताउनुभयो ।
उहाँले देशको आर्थिक सुधारका लागि प्रारम्भिक सकारात्मक प्रयास थालिएको भन्दै राजनीतिक रुपमा पनि सरकारले प्रगति गरेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले मुलुकका विद्यमान समस्या समाधान गर्न सरकार र संसद् सँगसँगै जोडेर लैजानुपर्ने बताउनुभयो ।
नेता पौडेलले जनताको दैनिक समस्यालाई समाधान गर्ने दिशामा संसद्लाई लैजानुपर्नेमा जोड दिँदै उहाँले देशका समस्या समाधान गर्न प्राज्ञिक बहसको आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री रबी लामिछानेले राज्यका संयन्त्रलाई थिलोथिलो पारिएर छाडिएका कारण अपेक्षित रुपमा काम गर्न नसकिएको बताउनुभयो । उहाँले जनअपेक्षा पूरा गर्न प्रणाली सुधार आवश्यक रहेको पनि औँल्याउनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विधिको शासन कायम गर्न सबै गम्भीर हुनुपर्नेमा समेत जोड समेत दिनुभयो ।
बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद अशोक राईले संसद्को प्रभावकारिता र गरिमा बढाउन नवनिर्वाचित सभामुख र उपसभामुखले सक्रिय भूमिका खेल्नुहुने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले संसदमा निष्पक्ष, तटस्थ भूमिका निर्वाह गरेर जनताको समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्न आग्रह गर्नुभयो ।
बैठकमा जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत, लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी, नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल लगायतका सांसदहरुले नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपसभामुख, #सभामुख
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्