राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग चीनका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ ।
आज सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा उहाँहरुबीच भेट भएको हो । भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना कालदेखि घनिष्ठ रहेको उल्लेख गर्दै पछिल्लो समय थप प्रगाढ, सुमधुर र रचनात्मक बन्दै गएकोमा खुसी लागेको बताउनुभयो ।
“दुई मुलुकले हाम्रो लामो इतिहास बोकेको मित्रवत् सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्त्व दिएका छन्”,उहाँले भन्नुभयो, “नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको छ । हामी हाम्रो भू–भागमा चीनका गहन चासोका विषय तथा मामिलाका विरुद्धमा कुनै पनि गतिविधि हुन नदिन कटिबद्ध छौँ ।”
अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र चीनले हासिल गरेको निरन्तरको प्रगतिप्रति नेपालले प्रशंसा व्यक्त गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले चीन र नेपालबीच भएका उच्चस्तरीय भ्रमण र अन्य अवसरमा भएका ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई), पारवहनलगायत सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।
कोरोना महामारी र बाढी पहिरोका कारण अवरोध भएको नेपाल र चीनको दोहोरो व्यापार सुचारु हुँदा केही सहज भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । “हाल केरुङ÷रसुवागढी सीमा नाकामा दोहोरो व्यापार सुचारु हुनुले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको छ ।
हिल्सा/पुराङ नाकामा पनि एकतर्फी सुचारु भएको छ,” उहाँले भन्नुभयो, “यसले दुई देशबीचको व्यापार प्रवर्द्धन गर्न एवम् सीमा क्षेत्रका बासिन्दाको जीवनयापनमा सहजता ल्याउने विश्वास रहेको छ । अवका दिनमा हामीले तातोपानी÷जाङमु द्विपक्षीय व्यापारको रूपमा र अन्य नाकाबाट आयातको व्यवस्था गर्न आवश्यक छ ।”त्यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुर्याउनेमा अध्यक्ष तिमिल्सिनाले विश्वास व्यक्त गर्नुभयो ।
“नेपाल–चीन बीचको व्यापारलाई सन्तुलन गर्न चीन सरकारको सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयनमा तीव्रता दिन र महामारी पश्चातको पुनः निर्माणमा थप विकास सहायता उपलब्ध गराउनेतर्फ प्राथमिकता साथ दुवै देशले मिलेर अगाडि बढ्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “यसका लागि महामहिमले महत्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास लिएको छु ।”
भेटमा राजदूत सोङले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक रुपमा लामो समयदेखि सुमधुर तथा कूटनीतिक रुपमा पनि सबै राजनीतिक परिस्थितिमा समान रहेकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय राजनीतिक भ्रमण, रणनीतिक सञ्जाल निर्माण गर्ने र विभिन्न समयमा भएका बेल्ट एण्ड रोड इनिसियटिभ लगायतका सम्झौताको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले दुई देशको सरकार र संसद्बीच सहकार्यका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #गणेशप्रसाद तिमिल्सिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्