चिया बेचेरै मासिक ६० हजार बचत गर्दै २० वर्षीया विपना महत
रेसुङ्गा । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ ।
यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छन् ।
बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्छिन् । बजारमा चियाको मूल्य रु २५ भए पनि विपनाले एक कप चिया रु २० का दरले बेच्छिन् । “चिया बेचेर दैनिक रु तीन हजारका दरले मासिक रु ९० हजार कमाइ हुन्छ”, उनी भन्छन्, “घरखर्च सबै कटाएर रु ६० हजार बचत गर्दै आएकी छु । ” विपनाले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ रु तीन हजार भएको बताइन् ।
माध्यमिक शिक्षा परीक्षा ९एसइई० पछि उनी पढ्नका लागि तम्घास आएकी हुन् । उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सक्काइन् । यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोचिन् । उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरुआत गरिन् । मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गरिन् । तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकी छन् ।
अनुभव सङ्गाल्ने भनेर चिया बेच्न सुरु गरेको उनले बताइन् । “अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ”, उनी भन्छिन्, “मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन”, उनले भनिन् । तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने उनको भनाइ छ ।
आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उनले बताइन् । उनी बिहान ६ बजे बजारमा चिया बेच्न निस्कन्छिन् । त्यसपछि फर्किएर खाना खाएपछि १२ बजे निस्कन्छिन् । तम्घास बजारमा चिया बिक्री नहुने समस्या कुनै दिन पनि नरहेको विपनाले बताइन् । आफूले तयार गरेको चिया छोटो समयमै खपत हुने गरेको छ ।
उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन् । कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन् ।
उनी उपल्लो तम्घासमा रहेको मामाघरमा बस्दै आएकी छन् । उनले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताइन् । विपनाका बुवा हरिबहादुर कृषक छन् भने आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका छिन् । चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको सबैले राम्रो भन्दै प्रशंसा गर्ने गरेको विपनाको अनुभव छ ।
विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिन्छिन् । उनले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताएकी छन् । लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको तर्क छ । विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै छिन् । रासस
क्याटेगोरी : समाचार
ट्याग : #विपना महत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्