काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प छैन: चिरिबाबु महर्जन
काठमाडौं । ललितपुर उप-महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकाको जनघनत्व बढ्दै गएकाले अब मेट्रो रेलको विकल्प नभएको बताएका छन् ।
ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा तथा काठमाडौं महानगरपालिकाका जुझारु प्रमुख बालेन्द्र साह ‘बालेन’लाई साक्षी राखेर उपत्यकामा मेट्रो रेलको आवश्यकता औंल्याएका हुन् ।
काठमाडौं उपत्यकामा दिनहुँ बढिरहेको सवारी साधनको चाप, सडक विस्तारमा भइरहेको समस्या र ढिलाई तथा उचित ट्राफिक व्यवस्थापनको दृष्टिकोणबाट मेट्रो रेल आवश्यक भइसकेको धारणा व्यक्त गरे । त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि जुन सहरभित्र ३० लाख जनसंख्या हुन्छ, त्यो ठाउँको निमित्त मेट्रो अपरिहार्य रहेको उनको भनाइ थियो । महर्जनले ३० लाख जनसंख्या भएको ठाउँमा मेट्रो चलाउँदा घाटामा नजाने निष्कर्ष अन्तर्राष्ट्रिय अध्ययनहरूको भएको चर्चा गर्दै भने, ‘ठ्याक्कै नाफामा नआए पनि ब्रेक इभन प्वाइन्ट (बीईपी) मा पुग्छ भन्ने छ ।’
त्यसैले काठमाडौंमा मेट्रो रेल ल्याउन बिलम्ब गर्न नहुने उनको भनाइ छ । बरु अरु कुनै योजनाहरू कट्टीमट्टी गरेर भए पनि मेट्रो रेल निर्माणको प्रक्रिया अविलम्ब प्रारम्भ गरिनुपर्नेमा उनले जोड दिएका छन् ।
त्यस्तै उनले उपत्यकाभित्रको संस्कृति र सम्पदाको जगेर्ना गर्न काठमाडौं महानगरसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले पनि उपत्यकाको कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि र सम्पदाहरुको संरक्षणमा जोड दिए । उनले ललितपुर महानगरसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने पनि बताएका छन् ।
मेट्रो रेलबारे देउवा र साह मौन
ललितपुर उपमहानगरका प्रमुख चिरीबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो रेलको आवश्यकता औंल्याए पनि त्यसबारे सँगै मञ्चासिन प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरका प्रमुख बालेन साहले कुनै चासो दिएनन् । दुवै अतिथिले पूर्वनिर्धारित भाषण गरेर कार्यक्रमबाट बाहिरिए ।
देशको जल्दोबल्दो समस्या र जनजिवीकासँग जोडिएको विषयमा प्रधानमन्त्री देउवा र काठमाडौंका प्रमुख साहले ‘होस्टेमा हैैंसे’को अभिव्यक्ति दिन्छन् कि भन्ने आम अपेक्षा भए पनि उनीहरूले त्यसतर्फ ध्यानै दिएनन् ।
त्यसो काठमाडौंमा मेट्रो रेलको प्रसङ्ग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उजागर गरेका थिए । त्यसलाई काठमाडौं महानगरका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यले केही हदसम्म प्रक्रिया अगाडि बढाएका थिए । तर, खर्चका हिसाबले धेरै महङ्गो हुने भएकाले महानगरले तत्काल अघि बढाएन ।
त्यसका लागि केन्द्रीय सरकार प्रदेश सरकारसँग छलफल पनि चलाइएको थियो । तर, बीचमै राजनीतिक उतारचढाव आएर सरकार परिवर्तन भएपछि मेट्रो रेलको प्रसङ्ग हराएको थियो ।
महर्जनले मेट्रोको आवश्यकता औंल्याउँदै भनेका छन्, ‘पहिले हामीले महङ्गो भयो भनेर प्रक्रिया अघि बढाएनौँ, जतिबेला डलरको मूल्य १०८ रुपैयाँ थियो । अहिले हामीलाई रेलको आवश्यकता झनै बढेको छ, तर डलरको मूल्य १३४ रुपैयाँ पुगन लागेको छ, अझै ढिलो गर्यौँ भने २०० पुग्ला अनि महङ्गो भयो भनेर नबनाउने त ? होइन, बनाउनै पर्छ, ढिलो नगरौँ ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चिरिबाबु महर्जन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्