Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

सडकमा भइरहेको जथाभाबी पार्किङ हटाउन बीरगञ्ज महानगको निर्देशन


 

वीरगञ्ज । बीरगञ्ज महानगरपालिकाले वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडकखण्डमा भइरहेको जथाभाबी पार्किङ हटाउन निर्देशन गरेको छ  ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहितको टोलीले शुक्रबार बिहान उक्त सडक खण्डको स्थलगत अवलोकन गर्दै सडकमै पार्किङ गरिएको र निर्माण सामग्री राखेर आउजाउ गर्नै समस्या बनाएको भेटेपछि तत्काल हटाउन निर्देशन दिइएको हो ।

सडकमा जथाभाबी पार्किङ गर्ने र निर्माण सामग्री राख्दा आवतजावतमा समस्या हुनुका साथै दुर्घटना हुन सक्ने भएकाले हटाउन लगाइएको महानगरपालिकाले जनाएको छ  ।

सहायक बाइपाससँगै बाइपास सडक खण्डमा अहिले ठूला सवारी साधन बस, ट्रक जस्ता सवारी जथाभाबी पार्किङ गर्ने गरेको भेटिने गरेको छ ।

यस्तै मेयर सिंहसहितको टोलीले वडा नम्बर ४ विर्तामा लाग्ने माछा बजारका कारण उक्त क्षेत्र दुर्गन्धित हुन पुगेको भन्दै जथाभाबी फोहोर नफाल्न व्यवसायीहरूलाई आग्रह गरेको छ ।

फोहोर तत्काल व्यवस्थापन गर्दै माछा बजार सञ्चालन गर्न सचेत गराइएको महानगर पालिकाका प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिनुभयो ।

टोलीले वडा नम्बर ५ र ३ का विभिन्न स्थानको अवलोकन गर्दै त्यहाँका स्थानीयसँग छलफल पनि गरेको छ ।

भेटका क्रममा प्रमुख सिंहले वीरगञ्जको विकासका लागि आ–आफ्नो ठाउँबाट साथ दिन अनुरोध समेत गर्नुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बीरगञ्ज महानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्