प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसका पुरुषतर्फ तीन जनामात्रै
काठमाडौँ I नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक सय १० सिटमध्ये ३२ सिट प्राप्त गरे पनि पुरुष सांसद निर्वाचित गर्न तीन जनाको नाम मात्र छनोट गरेको छ ।
प्रत्यक्षतर्फ कुल एक सय ६५ सिटमध्ये कांग्रेसका एक महिला मात्र निर्वाचित हुनुभएको र सङ्घीय संसद्मा महिला प्रतिनिधित्व ३३ प्रतिशत पु¥याउनुपर्ने संवैधानिक प्रावधानका कारण समानुपातिकमा पुरुष सङ्ख्या कम छनोट गर्नुपरेको हो ।
कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद हुनेहरूको नाम शनिबार टुङ्गो लगाई निर्वाचन आयोगमा बुझाएको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलित क्लष्टरबाट जीवन परियार, खस आर्यबाट डा प्रकाशरण महत र मधेसीबाट विमलेन्द्र निधिको नाम टुङ्गो लगाएको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काङ्ग्रेसबाट एक जना महिला मात्र निर्वाचित हुनुभएको र राष्ट्रियसभा हाल कांग्रेसका दुई महिला सदस्य मात्र रहनुभएकाले समानुपातिकतर्फ २९ जना महिलाको नाम पठाएको पार्टी कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभामा समानुपातिकतर्फबाट काँग्रेसले खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईँ, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की र डा प्रकाशशरण महतलाई चयन गरेको छ ।
यसैगरी आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लीलादेवी बोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचनको नाम आयोगमा पठाएको छ भने मधेसी क्लष्टरबाट नागिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, सङ्गीता मण्डल, नीनुकमारी कर्ण र विमलेन्द्र निधिको नाम पठाइएको छ ।
दलिततर्फबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक, जीवन परियार चयन हुनुभएको छ भने थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत तथा मुस्लिमबाट जावेदा खातुन जागाको नाम पठाइएको पार्टी कार्यालयले जनाएको छ ।
अबको प्रक्रिया के हो त ?
निर्वाचन आयोगले समानुपातिक मतगणना सम्पन्न गरेपछि समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न दलहरूलाई बिहीबार तीन दिनको समय प्रदान गरेको थियो । शनिबारसम्म सबै दलले समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न नामावली बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राससलाई जानकारी दिनुभयो ।
आयोगले आज उक्त नामावली उपर जाँच गर्ने, सबै क्लष्टर तथा महिलाको सङ्ख्या नपुगेको सम्बन्धमा हेर्ने पौडेलले बताउनुभयो । दलहरूको समानुपातिक सूची केन्द्र र प्रदेश गरी आठ ठाउँमा छ । आयोगले आवश्यक जाँच र दलहरूको तयारीअनुसार सबै कार्य सम्पन्न गरी सम्भवतः सोमबार समानुपातिक सांसदको नामावली सार्वजनिक गर्ने जनाएको छ ।
यी सबै प्रक्रिया सम्पन्न गरी यही मङ्सिर अन्तिमसम्ममा प्रतिनिधिसभाको राष्ट्रपतिलाई र प्रदेशमा सम्बन्धित प्रदेश प्रमुखलाई निर्वाचनको विवरण बुझाउने आयोगको लक्ष्य रहेको प्रवक्ता पौडेलले बताउनुभयो । त्यसपछि नयाँ सरकार गठन र नयाँ संसद् बैठकको तयारी प्रारम्भ हुनेछ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्