खोटाङमा रामकुमार राई र विशाल भट्टराई बीच प्रतिस्पर्धा
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले )का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ ।
गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ र नेकपा (एमाले)बाट विशाल भट्टराई उम्मेदवार हुनुहुन्छ । विसं २०६४ मा क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा (२)बाट राई निर्वाचित हुनुभएको थियो ।
विसं २०५६ र २०६४ को निर्वाचनमा पराजित हुनुभएका भट्टराई विसं २०७० र २०७४ मा विजयी हुनुभएको थियो ।
प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा (१)मा स्वतन्त्रसहित आठ–आठ तथा प्रदेशसभा (२)मा छ नेता चुनावी मैदानमा उत्रनुभएको छ ।
एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा गत स्थानीय तहको निर्वाचनमा आठ स्थानीय तह वाम–लोकतान्त्रिक गठबन्धनले जितेका थियो ।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतका आधारमा वाम–लोकतान्त्रिक गठबन्धनको ४७ हजार पाँच सय १३ मत छ । एमालेको २८ हजार सात सय ९७ मत रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा खसेको मतलाई आधार मानेर हेर्दा प्रदेशसभा (१)मा कांग्रेस १६ हजार नौ सय ३४, माओवादी केन्द्रको आठ हजार चार सय २४ र एकीकृत समाजवादीको एक हजार एक सय २६ गरी गठबन्धनको २६ हजार चार सय ८४ मत छ । एमालेको १३ हजार दुई सय ५९ मात्र छ ।
स्थानीय तहको चुनावमा वडाध्यक्षको मतका आधारमा प्रदेशसभा (२) मा गठबन्धन नै अगाडि छ । माओवादीको १० हजार तीन सय १२, कांग्रेसको नौ हजार छ सय ९९ र एकीकृत समाजवादीको एक हजार १८ गरी २१ हजार २९ मत खसेको थियो । एमालेको भने १५ हजार पाँच सय ३७ मत छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्