Techie IT
शनिबार, वैशाख १९,२०८३

झापा कारागारमा रहेका १४८ कैदीबन्दीले मतदान गर्न पाउने


झापा । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा झापा कारागारमा रहेका कैदीबन्दीमध्ये एक सय ४८ जनाले मतदान गर्न पाउने भएका छन् ।

कारागारका एक हजार चार सय २७ जना कैदीबन्दी रहेका जनाइएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय झापाले जनाएको छ ।

कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरुलाई मतदानको व्यवस्था गरिने बताए । ‘कैदीबन्दी धेरै भए पनि मतदाता नामावलीमा १४८ जनाको नाम छ । नाम भएकाले मात्र मतदान गर्न पाउनुहुन्छ,’ उनले भने ।

कारागारमा हाल एक हजार २४५ पुरुष, ७१ जना महिला र दुई जना बालबालिका कैदीबन्दी रहेको जिल्ला कारागार झापाले जनाएको छ । जसमध्ये एक हजार ३३५ नेपाली र ११० जना विदेशी रहेका छन् ।

जिल्लामा ७६६ स्थायी र दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् । जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदात अधिकृत गरी एक हजार ५३६ जना निर्वाचनमा खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #झापा कारागारमा रहेका १४८ कैदीबन्दीले मतदान गर्न पाउने


तपाईको कमेन्ट लेख्नुहोस्