नेकपा एमाले दाङ क्षेत्र २ : आगामी पाँच वर्षका लागि २३ प्रतिज्ञा र २३५ अठोट सार्वजनिक
दाङ । नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नं. २ ले आगामी पाँच वर्षका लागि २३ प्रतिज्ञा र २३५ अठोट सार्वजनिक गरेको छ ।
एमाले महासचिव एवम् दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेल, २(१) प्रदेशसभा सदस्य उम्मेदवार बलिभद्र राना र २(२) प्रदेशसभा सदस्य उम्मेदवार गिरीराज केसीले संयुक्तरूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेर २३ प्रतिज्ञासहित २३५ अठोट व्यक्त गरेका हुन् । प्रतिबद्धतापत्र सार्वजनिक गर्न आज मंगलबार घोराहीमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा एमाले पोलिट्व्यूरो सदस्य एवम् दाङ इञ्चार्ज नरुलाल चौधरी, एमाले पोलिटव्यूरो सदस्य सुजिता शाक्य, नेकपा एमाले केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सहइञ्चार्ज जीवन गौतमलगायत नेताहरूको उपसिथति थियो ।
२३ प्रतिज्ञामा समृद्ध दाङ–एमाले अभियान, भौतिक पूर्वाधार–दाङ समृद्धिको आधार, सहरीकरण तथा वस्ती विकास–समृद्धिको प्रमुख आधार, संस्कृति तथा पर्यटन–आर्थिक विकासको प्रवद्र्धन, दक्ष जनशक्ति र गुणस्तरीय शिक्षा, दङगाली जनताको अपेक्षा, गुणस्तरीय स्वास्थ्य र खाना–निरोगी हुने जनताको चाहना, कृषि र पशुपालन– जीवनस्तर सुधारको माध्यम, औद्योगिक विकास, स्वाधीन अर्थतन्त्रको सर्वोत्तम निकास, विद्युत, जलस्रोत, सिंचाई र खानेपानी, स्वस्थ र समृद्ध जिन्दगानी उल्लेख छन् ।
यसैगरी जडीवुटी, वन र वातावरण समुन्नत र दिगो पर्यावरण, भू उपयोगको आधार कृषि र आवासको सुधार, उद्यमशीलता, श्रम र रोजगार जनताको अधिकार, युवा, खेलकुदको विकास, विदेश पलायनविरुद्धको निकास, ज्येष्ठ नागरिकको सम्मान, राष्ट्रको स्वाभिमान, दाङका महिला–विकासमा पहिला, बालवालिकाको अधिकार सबैको सरोकार, हेपिएकालाई मान दलित तथा जनजातिलाई सम्मान, अपाङगको विशेष क्षमता, विकासमा सहभागिता, भूमिहिन, सुकुम्वासीको अपेक्षा हातहातमा लालपूर्जा, सूचना र सञ्चार–समुन्नतिको आधार, भ्रष्टाचारमुक्त प्रशासन– जवाफदेहीता र सुशासन, हाम्रो पहिचान– कला, साहित्यको उन्नयन र विपद व्यवस्थापन– सुरक्षित जीवन भन्ने प्रतिज्ञा एमाले उम्मेदवारहरूले ल्याएका छन् ।
एमालेले समृद्ध दाङ एमालेको अभियानसहित लक्ष्य सार्वजनिक गरेको छ । त्यसका लागि भौतिक पूर्वाधारको विकास दाङको समृद्धिको आधार बनाइएको छ । पूर्वाधार निर्माणमा घोराहीदेखि रोल्पासम्मको शहिद मार्गकको विस्तार गरी डोल्पासम्म जोड्ने, घोराही–प्यूठान सडक कालोपत्रेलाई पूर्णता दिने, लमही–तुलसीपुर सडकलाई विस्तार गर्ने, चुनढुंगा खानीदेखि उद्योगसम्मको वैकल्पिक मार्ग निर्माण गर्ने, घोराही–होलेरी सहिद मार्ग, घोराही–बंगलाचुली र तुलसीपुर–सल्यान,रुकुम राप्ती राजमार्गको स्तरोन्नति गर्ने, घोराही–सिमलतारा–हाँसीपुर–देउखुरीको विपी राजमार्गअन्तर्गत सिमलतारादेखि बाँकी खण्डको निर्माण कार्य आगामी तीनवर्षमै सक्ने एमालले अठोट लिएको छ ।
यसैगरी सहरीकरण तथा वस्ती विकासलाई एमालेले समृद्ध दाङको आधारको रूपमा प्रस्तुत गरेको छ । वस्ती विकासको वैज्ञानिक मापदण्ड र मोडेल निर्माण गरी लागु गर्ने, जिल्लाको एकीकृत विकासको गुरुयोजना तयार गरी आवासीय, औद्योगिक, व्यापारिक, कृषि तथा हरियाली क्षेत्र छुट्याइ व्यवस्थित वस्ती विकास गर्ने, सवारी चाप हुने चोकहरूमा स्काई व्रिज निर्माण गरिने, फोहोरलाई उर्जामा बदलेर ग्याँस वितरण गर्ने, मुख्य बजारलाई आइटी शहर र ग्रामिण बजारहरूलाई मुख्य सहरहरूको स्याटलाईट सहरकारूपमा विकास गर्ने, मुख्य सहर कलर कोडमार्फत बेग्लै पहिचान दिने अठोट एमालेले लिएको छ ।
यसैगरी सस्कृति तथा पर्यटनलाई पनि दाङलाई समृद्ध बनाउने आधारका रूपमा एमालेले अघि सारेको छ । बंगलाचुलीलाई साहसिक पर्यटन क्षेत्रको रूपमा विकास गर्ने, थारु जातिहरूको पहिचानलाई नेपालको पर्यटनको विकासमा जोडिनेलगायतका छन । यस्तै शैक्षिक विकास, प्राविधिक शिक्षा, आयुर्वेद शिक्षालगायत सवैका लागि गुणस्तरीय शिक्षाको अठोट गरिएको छ ।
यसैगरी स्वास्थ्यतर्फ लमहीमा ट्रमा सेन्टरको यथाशिघ्र निर्माण, विपन्नलाई निशुल्क स्वास्थ्य सेवा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ सय शैयाको अस्पताल बनाई विएस्सी नर्सिङ र एमडीको पढाइ यथाशिघ्र सुरु गर्ने र प्रादेशिक आयुर्वेद अस्पताल विजौरीलाई पूर्वाधार थप गरी औषधि उत्पादन केन्द्रकोरूपमा विकास गर्ने अठोट एमालेले लिएको छ ।
यसैगरी कृषिमा यान्त्रिकीकरण गर्ने, सिंचाई र समयमा मल, विउ र किसानलाई प्रोत्साहन गर्ने अठोट एमालेले गरेको छ । त्यसका लागि स्मार्ट कृषि गाउँहरूको संख्या विस्तार गर्ने, व्यवसायिक कृषि तथा पशु फर्महरूलाई अनुदानको व्यवस्था गर्नेलगायतका दर्जनौ कार्यक्रम अघि सारिएको छ । यसैगरी वनको संरक्षण गरी काष्ठ तथा जडिवुटी, उत्पादन गर्ने एमालेको अठोट छ ।
यसैगरी भूमिहीन, सुकुम्वासीलाई लालपुर्जा दिने अठोट एमालेले लिएको छ भने उद्यमशीलता, श्रम र रोजगारको प्रवर्द्धन गर्ने, खेलकुद र खेल पूर्वाधारको विकास, ज्येष्ठ नागरिक सम्मान, ज्येष्ठ नागरिक र सामाजिक सुरक्षा भत्ता वृद्धि, दलित, जनजाति, अपाङगता भएका एवं पछाडी पारिएकाहरूको विकास, सीप र रोजगारी प्रवर्द्धन गर्ने अठोट एमालेले लिएको छ । एमालेले सुशासन, जवाफदेहीतालाई प्रवर्द्धन गर्दै भ्रष्टाचारमुक्त प्रशासन निर्माण गर्ने अठोट लिएको छ ।
नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले प्रतिज्ञापत्र सार्वजनिक गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा एमाले रहेको भन्दै जनताको साथले यो अभियान पूरा हुने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले दाङ क्षेत्र २
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्