Techie IT
सोमबार, वैशाख २२,२०८२

खाँदबारी-किमाथाङ्का सडकको ट्र्याक १८ महिनामै सम्पन्न गर्नेछौं ; दीपक खड्का


नुम (संखुवासभा)- पाँचदलीय गठबन्धनबाट संखुवासभामा प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपक खड्काले जिल्लाको समृद्धिका लागि जनताको साथ, हात र मत चाहिएको बताएका छन्।

मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खड्काले भने, ‘समृद्ध संखुवासभा निर्माणका लागि मलाई तपाईंहरूको साथ चाहियो, तपाईंहरूको हात चाहियो, तपाईंहरूको मत चाहियो।’ अर्को प्रसंगमा उनले जोगवनी-किमाथांका सडकको ट्र्याक ओपनिङको काम १८ महिनाभित्र सम्पन्न हुने कुरामा द्विविधा नरहेको बताए।

संखुवासभामा खाँदबारीबाट किमाथांका जोड्ने सडक निर्माण मुख्य चुनावी एजेन्डा हो। कांग्रेस जिल्ला सभापति खड्काले भारत र चीनलाई छोटो दूरीमा जोड्ने यो सडकको ट्र्याक अब १८ महिनामै सम्पन्न हुने खुशीको खबर नुम बासीलाई सुनाए। पाँच वर्षमा एमालेको सरकार र उसका सांसदले संखुवासभामा एक रुपैयाँ पनि राष्ट्रिय बजेट नदिएको खड्काले दोहोर्याए।

एमालेका जनप्रतिनिधिले पाँच वर्षको अवधि जागिर खाएरै बिताएको उनले बताए। त्यसका कारण जिल्ला विकासमा २५ वर्ष पछाडि परेको खड्काले बताए। अनि, एमालेको सरकारले रद्द गराएका संखुवासभाका विकास आयोजना पुनः कार्यान्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता रहने जानकारी दिए। स्वच्छ पिउने पानी र बिजुली घर-घरमा पुर्याउनु आफ्नो प्राथमिकतामा रहने उनले बताए।

र, समृद्ध जिल्ला निर्माणका लागि गठबन्धन दलहरूलाई मतदान गर्न उनले आग्रह गरे। गठबन्धनबाटै प्रदेशसभा ‘क’मा माआवादी केन्द्रका उम्मेदवार राजेन्द्र कार्कीले मकालुमा विद्युत सब-स्टेसन स्थापना गरी पालिकाका सबै वडा र छिमेकी पालिकामा पनि बिजुली पुर्याउने प्रतिबद्धता व्यक्त गरे। सबै वडामा सडक र स्वास्थ्य चौकी पुर्याउने विषयलाई पनि आफूहरूले जितेर गएपछि प्राथमिकतामा राखेर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।


क्याटेगोरी : समाचार
ट्याग : #दीपक खड्का


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545