Techie IT
शनिबार, वैशाख १९,२०८३

दोलखामा एमालेले सुरू गर्‍यो प्रचार अभियान


दोलखा । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि दोलखा एमालेले आज शुक्रबारदेखि प्रचार अभियान सुरू गरेको छ ।

दोलखाको सदरमुकाम चरिकोटमा आज बिहान एक भव्य समारोह आयोजना गरी प्रचार अभियान सुरू गरिएको नेकपा एमालेका उपाध्यक्ष एवम् प्रचार विभाग संयोजक राजेन्द्र मानन्धरले जानकारी दिए ।

नेकपा एमाले दोलखाका हस्ती एवम् पार्टी पोलिटब्युरो सदस्यत्रय आनन्द प्रसाद पोखरेल, ईश्वरी रिजाल र पार्वत गुरुङको उपस्थितिमा समारोह आयोजना गरी प्रचार अभियान सुरू गरिएको श्रेष्ठले बताए ।

राजनीतिक दलहरूकै सहमतिमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्ण पालना गर्दै एमालेले आफ्नो पार्टीका उम्मेदवारको प्रचार गरिने संयोजक मानन्धरले बताए । ‘कतिपय राजनीतिक दलहरूले अहिले पनि आचारसंहिता प्रतिकुल हुनेगरी प्रचार गरिरहनुभएको छ, तर नेकपा एमालेले दोलखामा त्यसो गर्ने छैन,’ संयोजक मानन्धरले भने, ‘निर्वाचन आचारसंहिता हामी पूर्णरूपमा पालना गर्ने छौँ ।’

शुक्रबार बिहान ७ देखि ९ बजेसम्म भएको विशेष कार्यक्रममा उम्मेदवारसँग साक्षात्कारकार गर्दै चुनावी प्रचार गीत र भिडियो सार्वजनिक गरिएको छ । त्यस्तै नृत्य र टिकटक प्रतियोगिता पनि घोषणा गरेको दोलखा एमालेले जनाएको छ ।

कार्यक्रममा पार्टीका पूर्वमन्त्री र प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार समेत रहनुभएका पोलिटब्युरो सदस्यसहित केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति थियो । कार्यक्रममा आम मतदाता र पार्टीका नेता कार्यकर्तालगायतको व्यापक उपस्थिति थियो ।

एमाले दोलखाबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ बालकृष्ण शिबाकोटी तथा प्रदेश सभा (क) बाट नरबहादुर श्रेष्ठ र प्रदेश सभा (ख) बाट भरतबहादुर केसी उम्मेदवार छन् ।

उम्मेदवार शिबाकोटी एमालेका स्वच्छ र समाजसेवी छवी बनाएका उम्मेदवार हुन् । त्यस्तै प्रदेश (क)का श्रेष्ठ र (ख)का केसी क्रमशः मेलुङ गाउँपालिकाका पूर्वध्यक्ष तथा भीमेश्वर नगरपालिकाका पूर्वमेयर हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #दोलखामा एमालेले सुरू गर्‍यो प्रचार अभियान


तपाईको कमेन्ट लेख्नुहोस्