तिहारमा भत्ताको रकम नपाउँदा ज्येष्ठ नागरिक निराश

क्लाफाँटा नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम वितरण नगरेपछि ज्येष्ठ नागरिक निराश भएका छन् ।
तिहार आउन लाग्दा पनि ज्येष्ठ नागरिकले भत्ताको रकम पाउन सकेका छैनन् । “भत्ताको रकम नपाउँदा छिमेकीबाट सापटी लिएर दसैँ मनायौँ”, ज्येष्ठ नागरिक आशाराम चौधरीले भन्नुभयो, “तिहारमा भत्ताको रकम पाउने आशामा थियौँ, नगरपालिकाले बाँड्ने सुरसार गरेको छैन, तिहार पनि दसैँजस्तौ खल्लो हुने भयो ।” अर्का ज्येष्ठ नागरिक नारुदेवी लुहारले भन्नुभयो, “वडा कार्यालयमा बैंकका कर्मचारीले भत्ताको रकम कहिले लिएर आउँछन् भन्ने आशमै बाटो कुरेर बसेका थियौँ ।” चाडपर्वमा नयाँ लुगा खरिद गरी लगाउने, मीठो मसिनो खाने, चेलीबेटीलाई दक्षिणा दिनेजस्ता योजना बनाएको भए पनि भत्ता नपाउँदा तिहार पनि दसैँ जस्तै खल्लो हुने देखिएको उहाँको भनाइ छ । ज्येष्ठ नागरिकसँगै सामाजिक सुरक्षाअन्तर्गतको भत्ताको रकम नगरपालिकाका विधवा, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकाले पनि पाउन सकेका छैनन् ।
नगरपालिकाको सामाजिक सुरक्षा शाखाका कर्मचारी राजेन्द्रबहादुर सिंहले अधिकांश ज्येष्ठ नागरिकलगायतका लाभग्राहीले सामाजिक सुरक्षा कार्यविधि २०७७ अनुसार परिचयपत्र नवीकरण गर्नुपर्ने भए पनि नगर्दा भत्ताको रकम वितरणमा विलम्ब भएको बताउनुभयो । “भत्ताको रकम पाउनेमध्ये ६० प्रतिशले मात्रै नवीकरण गरेका छन्”, उहाँले भन्नुभयो, “नवीकरण नगरेका ४० प्रतिशत बढी छुट्ने भएकाले वडा कार्यालयलाई भत्ताको रकम बुझ्ने सबैको नवीकरण गर्नका लागि भनेका छौँ, नवीकरणको कार्य सकिएपछि तुरुन्तै भत्ताको रकम वितरणको कार्य हुन्छ ।” उहाँका अनुसार नगरपालिकामा ज्येष्ठ नागरिक तीन हजार एक सय १२८, ज्येष्ठ नागरिक दलित चार सय २२, ज्येष्ठ नागरिक एकल महिला छ सय दुई, विधवा (आर्थिक सहायता) एक हजार ५७, अपाङ्गता भएका क वर्गका एक सय ३९, ख वर्गका दुई सय ४४ र दलित बालबालिका आठ सय ५० ले सामाजिक सुरक्षाअन्तर्गतको भत्ताको रकम पाउने गरेका छन् । त्रैमासिकरुपमा भत्ताको रकम वितरण गर्ने व्यवस्था रहेको छ । नगरपालिकाबाट सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत प्रत्येक त्रैमासिकमा रु पाँच करोड ८२ लाख ९३ हजार १६ रकम भत्ताका रुपमा वितरण हुने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तिहारमा भत्ताको रकम नपाउँदा ज्येष्ठ नागरिक निराश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्