Techie IT
शुक्रबार, वैशाख १८,२०८३

सयपत्री फुलको बजार खोज्दै तनहुँका किसान


तनहुँ । यस वर्षको तिहार भोलिबाट सुरु हुँदैछ । तिहारलाई फुलै फुल र उज्यालो पर्वको रुपमा समेत चिनिन्छ । यो पर्वमा भाइटिकाको साथमा लगाइने सयपत्री र मखमली फुलको खपत अत्यधिक हुने भएपनि फुल खरिद गर्न व्यापारीहरू किसान समक्ष नपुग्दा पुष्प व्यवसाय गर्ने तनहुँका किसान चिन्तामा छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा व्यवसायीक रुपमा सयपत्री फुलको खेती गर्दै आएका किसान तिहार नजिकिँदै गर्दा बजारको खोजीमा छन् । शुक्लागण्डकी नगरपालिका ८ डहरेकी मञ्जु श्रेष्ठले रहरै रहरमा यो वर्ष २ रोपनी क्षेत्रफलमा लगाएको फुल नबिक्ने हो कि भन्ने चिन्ता रहेको बताउनुभयो । ‘बजार आफै कसरी खोज्नु, अलिअलि फोनमा लिन आउँछु भन्नेहरू छन् अरू कसरी विक्री गर्ने ?’ उहाँले भन्नुभयो । ‘किसानलाई बजारको चिन्ता नहुने भएमात्र कृषिमा आकर्षण हुन्छ ।! किसानको उत्पादन विक्री गर्न सरकारले बजार खोजिदिनुपर्ने उहाँको तर्क छ ।

यता भिमाद नगरपालिका ८ भागरमा तीन युवाहरूले सामूहिक रुपमा लगाएको सयपत्री पूर्ण रुपमा फक्रिएको छैन । तिहार आइसक्दा पनि ७० प्रतिशत मात्र फुल फुलेपछि लक्ष्य अनुसारको ब्यापार नहुने पो हो कि भन्ने चिन्ता उनीहरुलाई छ । गत वर्ष समेत फुल खेती गरेका सागर विकले यस बर्ष आफ्नो उत्पादन आफै विक्री गर्ने लक्ष्य लिए पनि बजार व्यवस्थापनमा समस्या रहेको सुनाउनुहुन्छ । बजारमा विक्री केन्द्र राख्ने ठाउँ समेत पाउन मुस्किल परेको बताउँदै उहाँले स्थानीय किसानको समस्या समाधानमा सरोकारवालाले ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर पुष्प खेतीमा लागेका विष्णु राना, अमृत कुमाल र विकले स्थानीय सरकारले किसानलाई प्राथमिकता नदिएको गुनासो गर्नुभयो  । फुल उत्पादनका लागि सहयोग गर्न वडा र नगरपालिकामासमेत मौखिक निवेदन दिएपनि सकारात्मक प्रतिक्रिया नपाएको उहाँहरुकोे गुनासो छ । उहाँहरूले यस बर्ष झण्डै ३ रोपनी जग्गामा सत्र पत्री फुलको खेती गरिरहनुभएको छ ।

सोही वडामा पछिल्ला केही वर्षदेखि फुल खेती गर्दै आउनु भएका  गोविन्द अधिकारीलाई पनि बजारको समस्या छ । सामाजिक सञ्जालमा देखेकै भरमा स्थानीय क्षेत्रमा हुने कार्यक्रममा न्यून सङ्ख्यामा माला खपत भएपनि फुलेका सबै फुल खपत गर्न बजार नपाएको उहाँ बताउनुहुन्छ । अधिकारीले उत्पादन गरेका फुल खपत हुने आधार फोन र म्यासेज भएपनि अन्य क्रेताहरू भने पुगिसकेका छैनन् । गत वर्षको मूल्यमा नै सयपत्री विक्री गर्दै आएका उहाँले स्थानीय सरकारले आफूहरूजस्ता नमूना र व्यवसायीक फुल खेती गर्ने किसानलाई नजरअन्दाज गरेको बताउनुभयो । ‘वडा कार्यालयको आँगनमै फुल खेती छ, तर कुनै पनि प्रतिक्रिया हुँदैन’,उहाँले भन्नुभयो ।

यस वर्ष लामो समय खडेरी र त्यसपछि साथै लामो बर्सातका कारण किसानले लगाएको फुल आंशिक मात्रामा मात्र फुलेका छन् । पारिलो क्षेत्रमा सयपत्री छिटो फुल्ने भएता पनि अत्यधिक बर्षाका कारण सबै फुल तिहारमा नफुलेको कृषक श्रेष्ठले बताउनुभयो  ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सयपत्री फुल, #सयपत्री फुलको बजार खोज्दै तनहुँका किसान


तपाईको कमेन्ट लेख्नुहोस्