Techie IT
मंगलबार, मंसीर २,२०८३

अवैध लागूऔषध सहित सात जना पक्राउ


काठमाडौं । सर्लाही, कपिलवस्तु, कैलाली र झापाबाट सात जना पक्राउ परेका छन् । सर्लाही लालबन्दी नगरपालिका–५ डेरा गरी बस्ने दिलिप साहको कोठाबाट ५ केजी अवैध लागूऔषध गाँजा सहित फेला पारी मलगंवा नगरपालिका–९ बस्ने ४९ वर्षीय वीरेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका–६ घर भई हाल सोही नगरपालिका–५ डेरा गरी बस्ने २८ वर्षीय मोहन राजबंशीलाई ५ ग्राम ३ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका–५ मेचिपुल छेउबाट ३ ग्राम ६ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–२ बस्ने ३६ वर्षीय
लोकराज राजबंशी र कन्काई नगरपालिका–८ बस्ने २५ वर्षीय अजय राजबंशी रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ ह ४७३४ नम्बरको अटो टेम्पोलाई प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पोको चाबी बक्समा लुकाई छिपाई ल्याएको उक्त पदार्थ फेला पारी चालक लोकराज राजबंशी र टेम्पोमा सवार अजयलाई पक्राउ गरेको हो ।
कपिलवस्तु, मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट करिब ४ ग्राम ८ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका–८ महावन बस्ने३१ वर्षीय ईश्वर घर्ती र सोही नगरपालिका–१४ वोर्ड गाँउ बस्ने २० वर्षीय तुल्सीराम थारु रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको लु.७० प ४३९३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक डेरा गरी बस्ने बझाङ छविस पाथिभरा गाउँपालिका–४ घर भएका २४ वर्षीय बिशाल थापालाई ७ ग्राम २ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #अवैध लागूऔषध सहित सात जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्