बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्त्वपूर्ण हुन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभएको छ ।
उहाँले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताउनुभएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना गर्नुभएको छ । राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेलगायतका कुराको प्रत्याभूति गरेको छ । बालबालिका राष्ट्रका कर्णधार, भोलिका नीति निर्माता तथा देश र समाजका परिवर्तनका संवाहक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले बालबालिकालाई संविधान र कानूनले प्रत्याभूत गरेका सबै किसिमका हक अधिकार निर्बाध उपभोग गर्नसक्ने व्यवस्था सुनिश्चित गर्न सरकार लागि परेको बताउनुभएको छ । उहाँले उनीहरूलाई उचित शिक्षा दीक्षा दिई असल जिम्मेवार, देशभक्त र उत्पादनशील नागरिकका रूपमा तयार गर्न सबैले जोड दिन आवश्यक रहेकोसमेत उल्लेख गर्नुभएको छ ।
“बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, मनोरञ्जन, खेलकुद तथा सर्वाङ्गीण व्यक्तित्व विकासको लागि नेपाल सरकारले नीतिगत, कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्दै विभिन्न कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन गर्दै आइरहेको छ”, उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।
उहाँले मुलुक सङ्घीय शासन प्रणालीमा रूपान्तरित भएको वर्तमान परिप्रेक्ष्यमा बालबालिकाको समय हक अधिकारको संरक्षण एवं विकासमा सङ्घका अतिरिक्त प्रदेश र स्थानीय सरकारले पनि उत्तिकै जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । बालबालिकाको हक अधिकारको संरक्षण र बालमैत्री समाज निर्माणका लागि तीनै तहका सरकारबीच पारस्परिक सहयोग, समन्वय र सहकार्य अनिवार्य रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।
बालबालिकाको उज्ज्वल भविष्यका लागि घर परिवार, समाज एवं सबै सरोकारवाला जिम्मेवार बन्नु आवश्यक रहेको बताउँदै उहाँले सबैको साझा लक्ष्य र गन्तव्य भनेको बालअधिकार सुनिश्चित भएको बालमैत्री राष्ट्र निर्माण गर्नुभएको बताउनुभएको छ । बालबालिकाको अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्नु सबैको दायित्व भएको बताउँदै प्रधानमन्त्री देउवाले सबैको साझा प्रयास, सहयोग, समन्वय र सहकार्यबाट मात्र बाल अधिकार सुनिश्चित भएको बालमैत्री समाज निर्माण गर्न सकिन्छ भन्ने अपेक्षा गर्नुभएको छ ।
उहाँले दिवसका अवसरमा बालबालिकाको हक अधिकार र कल्याणका क्षेत्रमा कार्यरत सरोकारवाला निकायलाई आगामी दिनमा बालबालिकाको हक अधिकारको संरक्षण र विकासमा अझ बढी जिम्मेवार भई कार्य गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामनाका साथ सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्