महाअभियोग सिफारिस समितिको कार्यविधि र कार्यतालिका आगामी बैठकमा टुङ्गो लगाउने
काठमाडौँ । प्रतिनिधिसभा महाअभियोग सिफारिस समितिले आगामी बैठकमा समितिको कार्यविधि र कार्यतालिका टुङ्गो लगाउने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको समितिको पहिलो बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गरेर सोको प्रतिवेदन बुझाउन आवश्यक कार्यविधि र कार्यतालिका तयार गर्ने निर्णय गरेको हो ।
समिति सचिवालयले प्रस्तावित कार्यविधिको मस्यौदा तयार गरी वितरण गरेको छ भने कार्यतालिकाकाे टुङ्गो सदस्यहरूको समन्वयमा अर्को बैठकले लगाउनेछ ।
समितिका ज्येष्ठ सदस्य राम बहादुर विष्टको सभापतित्वमा बसेको बैठकमा सदस्यहरुले प्रतिनिधिसभाको कार्यकाल ३ महिनाभन्दा बढी नरहेको भन्दै त्यसअघि नै सक्ने गरी काम गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
बैठकमा केही सदस्यले ३ महिना महिनाभित्र र केही सदस्यले एक महिनाभित्रै सक्ने गरी कार्यतालिका बनाएर काम गर्नुपर्ने बताउनुभएको थियो । समिति सदस्य कृष्णभक्त पोखरेलले एक महिनामा सक्ने गरी ‘कार्यविधि सँगसँगै कार्यतालिका किटान गरिनुपर्ने बताउनुभयो ।
अर्का सदस्य मीनबहादुर विश्वकर्माले अझै ३ महिना समय भएकाले समय अपुग नहुने भन्दै महाअभियोग प्रस्ताव र अरू दस्ताबेजमाथि अध्ययन गरेर छलफललाई तीव्रता दिनुपर्ने बताउनुभयो ।
यसैगरी सदस्य यशोदा सुवेदी गुरुङले विगतमा पक्ष विपक्ष जे भए पनि सिफारिस समितिले निष्पक्ष भएर जतिसक्दो चाँडो प्रतिवेदन दिनेतर्फ कार्यतालिका बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
समितिमा ज्येष्ठ सदस्य रामबहादुर विष्टले सबै सदस्य उपस्थितमा अर्को बैठकमा कार्यविधि पारित गर्ने र कार्यतालिका बनाउने प्रस्ताव गर्नुभएको थियो ।
११ सदस्यीय महाअभियोग सिफारिस समितिको आजको बैठकमा एमाले सांसद विष्णु पौडेल र माओवादी सांसद रेखा शर्मा अनुपस्थित हुनुहुन्थ्यो ।
महाभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य रहनुभएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्ध २०७८ फागुन १ गते विभिन्न २१ वटा आरोपमा प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो । जबराविरुद्ध महाअभियोग दर्ता भएपछि फागुन २२ गते महाअभियोग सिफारिस समिति बनेको थियो भने फागुन २९ गते प्रतिनिधि सभामा पेस भएको थियो ।
सो महाअभियोग प्रस्तावमा साउन २२ गते प्रतिनिधिसभाले सैद्धान्तिक छलफलपछि महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #चोलेन्द्रशमशेर जबरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्