नागरिकता विधेयक फिर्ता पठाउने या पास गर्ने : राष्ट्रपतिसँग ‘तीन दिने अल्टिमेटम’
काठमाडौँ । गत साउन ७ गते शुक्रबार प्रतिनिधिसभाले नागरिकता संशोधन विधेयक बहुमतले पारित गर्यो। प्रतिनिधि सभाबाट पारित विधेयक साउन १२ गते राष्ट्रियसभाबाट पारित भयो ।
प्रतिनिधि सभा र राष्ट्रियसभाबाट पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै मान्य हुनेछ । अहिले सो विधेयक राष्ट्रपतिको टेबुलमा प्रमाणिकरणका लागि पुगेर अड्किएको छ ।
हालै जारी हुन लागेको नागरिकता विधेयक राष्ट्रघाती रहेको भन्दै नागरिक समाज देखि केही राजनीतिक दलका प्रतिनिधीहरुले यसलाई राष्ट्रपतिले प्रमाणिकरण गर्न नहुने आवाज उठाईरहेका छन् । ‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले तत्काल वैवाहिक अंगीकृत नागरिकता लिनसक्ने’ व्यवस्था गलत भएको भन्दै उनीहरुले नागरिकता विधेयक संसदमै फिर्ता गरिदिन माग गरेका हुन् ।
सोमबार पनि नागरिक समाजको टोली राष्ट्रपति कार्यालय पुगेर नागरिकता विधेयक उल्टाउन माग गरे ।
आफुलाई भेट्न पुगेका नागरिक समाजका टोलीसँग राष्ट्रपतिले कुराकानी गर्दै सो विधेयक उल्टाउने संकेत दिएकी छिन् । ‘नागरिकता विधेयक प्रमाणीकरणका लागि म कहाँ आएको छ। यसबारे धेरै बोल्दिनँ। मैले पाएको अधिकारभित्र रहेर काम गर्नेछु। इतिहासमा कसरी बाटो बिराइएको छ भनेर ख्याल गर्नुपर्छ। त्यो इतिहासलाई सच्याएर अगाडि बढ्नुपर्छ’, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक समाजसँग कुराकानी गर्दै भनेकी छन् ।
के छ राष्ट्रपतिको संबैधानिक अधिकार ?
प्रतिनिधिसभाले गत साउन ७ गते र राष्ट्रियसभाले गत साउन १२ गते नागरिकता संशोधन विधेयक बहुमतले पारित गर्यो । राष्ट्रिय सभाले पारित गरेकै दिन राष्ट्रपति कार्यालयमा उक्त विधेयक प्रमाणिकरणका लागि पुगेको थियो ।
संविधानको धारा ११३ को (२) अनुसार राष्ट्रपतिले आफूकहाँ आएको विधेयकबारे १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्नेछ । अर्थ विधेयकबाहेक अन्य विधेयकमा भने राष्ट्रपतिले पुर्नविचार गर्नका लागि सभामा फिर्ता पठाउन सक्ने संवैधानिक अधिकार छ ।
राष्ट्रपतिलाई प्रमाणिकरणका लागि आएको विधेयक पुनर्विचार हुनु आवश्यक छ भन्ने लागेमा आफूकहाँ आएको १५ दिनभित्र फिर्ता पठाउन सक्ने ब्यबस्था संबिधानले गरेको छ । संवैधानिक ब्यबस्था अनुसार राष्ट्रपतिले नागरिकता विधेयक पुर्नविचारका लागि फिर्ता पठाउन या प्रमाणिकरण गर्न मात्रै तीन दिन बाँकी छ । सोमबार मात्रै नागरिक समाजसँग राष्ट्रपतिले गरेको कुराकानीलाई आधार मान्ने हो भने यो विधेयकलाई सभामा फिर्ता पठाउने संकेत देखिन्छ ।
फिर्ता भए के हुन्छ विधेयक ?
संविधानको धारा ११३ को अधिकार प्रयोग गरेर ‘राष्ट्रपतिले पुनर्विचारका लागि विधेयक फिर्ता गरे विधेयकमाथि प्रतिनिधिसभा र राष्ट्रिसभामा पुन छलफल हुनुपर्नेछ ।
‘दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधन सहित पारित गरी पुनः पेश गरेमा पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ’, संविधानको धारा ११३ .(४) मा लेखिएको छ । सदनले फिर्ता आएको विधेयक यथावत वा संशोधन गरेर फेरि राष्ट्रपति कार्यालयमा पठाउन सक्छन् । तर, त्यसको लागि संबिधानले कुनै निश्चित समय सिमा भने तोकेको छैन् ।
यद्यपी फिर्ता आएको विधेयक माथि सदनमा छलफल भएर दोस्रो पटक प्रमाणीकरणका लागि पेश भएमा राष्ट्रपतिले त्यसलाई प्रमाणिकरण गर्नुपर्नेछ । दोस्रो पटक छलफल पछि पास भएर आएको विधेयक प्रमाणिकरण नगरी फिर्ता पठाउने अधिकार राष्ट्रपतिसँग संबैधानिक रुपमा छैन् ।
क्याटेगोरी : समाचार
ट्याग : #नागरिकता विधेयक फिर्ता पठाउने या पास गर्ने, #राष्ट्रपतिसँग ‘तीन दिने अल्टिमेटम’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्