Techie IT
आईतबार, वैशाख २८,२०८२

परराष्ट्रमन्त्री डा. खड्का आज चीन जाँदै


परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीनको भ्रमण जाँदैछन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा मन्त्री खड्का चीन जान लागेका हुन् ।

मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन् । खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खड्काले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ ।

शेरबहादुर देउवाको नेतृत्वमा एक वर्षअघि सरकार गठन भएपछि पहिलोपटक चीनतर्फ उच्च तहको भ्रमण हुन लागेको हो । भ्रमणमा दुई मुलुकबीच सन् २०१९ अक्टोबरमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण, दुई देशबीच भएका सम्झौता कार्यान्वयनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

सीको भ्रमणका दौरान दुई देशबीच २० बुँदे सम्झौता भएको थियो तर त्यसलगत्तै कोभिड संक्रमण र नेपालको आन्तरिक राजनीतिमा फेरबदल आएपछि दुवै मुलुकले सम्झौता कार्यान्वयनमा जोड दिन सकेका छैनन् ।

विशेषगरी दुवै पक्ष मिलेर अघि बढाउने भनिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ओझेलमा परेको छ । नेपालले सन् २०१७ मा उक्त परियोजनामा हस्ताक्षर गरेको थियो । त्यसैले यसपटकको भ्रमणमा बीआरआईका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।

खड्का २६ गते स्वदेश फर्किनेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #नारायण खड्का, #परराष्ट्रमन्त्री डा. खड्का आज चीन जाँदै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:15 am6:44 pm +0545