साउनको चौथो सोमबार पशुपतिमा भक्तजनको भीड
काठमाडौँ। साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो । दर्शनका लागि लाखौँ भक्तजन पशुपति क्षेत्रमा लाममा बसेको उहाँले जानकारी दिनुभयो । भक्तजनका लागि सहजरुपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ ।
मन्दिर दर्शनका लागि लाममा बसेका भक्तजन बिहानैदेखिको घामका कारण छाता ओढेर लाममा बसेको देखिन्छ । विगतका तीन हप्तामा भन्दा आज सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने बोलबम यात्रीको भीड लागेको छ । बोलबम यात्रीको पशुपति क्षेत्रमा भीड लागेपछि अहिले लाम गुह्येश्वरी मन्दिरसम्म पुगेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । बोल बम यात्रीका लागि पशुपतिनाथका चार ढोकामध्ये एउटा ढोका छुटाइएको छ ।
सुन्दरीजलबाट खाली गोडा, पहेँलो एवं हरियो वस्त्र पहिरिएका भक्तजन लाम लागेर आएको दृश्य देखिन्छ । उच्च स्वरमा बोलबम शब्द गुञ्जायमान गराउँदै भक्तजन पशुपतिनाथ मूल मन्दिरतिर आइरहेका छन् । कति भक्तजन भने सवारी साधन प्रयोग गरेर पनि बोलबम यात्रामा सहभागी भएका छन् ।
साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् ।
साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।
राजधानीको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । बिहान ४ बजेदेखि नै यी मन्दिरको ढोका खुला गरिएको जनाइएको छ ।
यस अवसरमा देशका विभिन्न भागमा रहेका शिवालयमा पनि भक्तजनको भीड लाग्ने गर्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले वर्षमा एकपटक साउन महिनामा घरघरमा रुद्राभिषेक पनि गर्ने गर्छन् । यस वर्ष सौरमासअनुसारको साउन महिनामा पाँच सोमबार परेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पशुपति, #साउनको चौथो सोमबार पशुपतिमा भक्तजनको भीड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्