सहजरुपमा ऋण प्रवाह हुन नसक्दा पुष्प व्यवसाय गर्न कठिन
काठमाडौँ । बैङ्कबाट सहजरुपमा ऋण प्रवाह हुन नसक्दा पुष्प व्यवसाय विस्तार गर्न समस्या भएको छ । लामो समय कोरोना महामारीको सामना गरी बिस्तारै लय लिन लागेको उक्त व्यवसाय विस्तारका लागि वातावरण नबन्दा व्यवसायी मारमा परेका छन् ।
लामो समयदेखि कलङ्कीमा नर्सरी सञ्चालन गर्दै आउनुभएका श्याम उप्रेतीले व्यवसाय जेनतेन धाने पनि आर्थिक समस्याका कारण विस्तार गर्न नसकेको बताउनुभयो । कोरोना महामारी अघि सहजरुपमा ऋण उपलब्ध हुने गरेको भए पनि अहिले विभिन्न बहानामा नपाउँदा लगानी बढाउन नसकेको उहाँले दुःखेसो पोख्नुभयो ।
सामान्यतया नर्सरी सञ्चालनका लागि रु ५० लाखदेखि रु एक करोडसम्म लगानी गर्नुपर्ने व्यवसायी बताउँछन् । लगानी बढाउन नपाएकै कारण पछिल्लो समय फूलको उत्पादनमा कमी आएको छ । कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगण्य भएको थियो ।
पुष्प व्यवसायीका अनुसार फूलको व्यापार भने आशाअनुरूप हुन सकेको छैन । कोरोना महामारीको समयमा भन्दा अहिले केही गतिविधि बढे पनि विगतको झैँ लय लिन अझै नसकेको फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । व्यवसाय विस्तार गर्न नसक्दा कारोबार कम भएको छ । गत आर्थिक वर्षमा रु तीन अर्बको कारोबार गर्ने लक्ष्य लिएको यस व्यवसायमा रु दुई अर्ब बराबर मात्र कारोबार भएको अनुमान गरिएको छ ।
हाल खपत हुने फूलमध्ये ९१ प्रतिशत नेपालमै उत्पादन हुन्छन् भने अझै पनि नौ प्रतिशत फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ । मुख्य गरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ ।
कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको समय भएकाले फूल बढी प्रयोग हुने गर्दछ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल करिब पाँच सय प्रजातिको फूल रहेको भए पनि व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूलको मात्र उत्पादन र बिक्री वितरण हुँदै आएको छ । नेपालमा झण्डै १५७ हेक्टरमा एक हजार व्यवसायीले यसको खेती गर्दै आएका छन् । रासस
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पुष्प व्यवसाय, #सहजरुपमा ऋण प्रवाह हुन नसक्दा व्यवसाय गर्न कठिन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्