Techie IT
सोमबार, वैशाख २२,२०८२

श्रीलङ्काली राष्ट्रपति राजपाक्षेले जुलाई १३ मा राजीनामा दिने


काठमाडौँ । श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजपाक्षेले आफ्नो पदबाट यही जुलाईको १३ तारिखमा राजीनामा दिने भएका छन् ।  उनले श्रीलङ्काली संसदका सभामुख महिन्द्रा यापा अविवर्दनालाई सो कुराको जानकारी गराएका छन् ।

राष्ट्रपति गोटाबायाले शनिबार सभामुख अविवर्दनासँग आफूले जुलाई १३ मा राजीनामा गर्ने जानकारी गराएका सभामुख अविवर्दनाको कार्यालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

श्रीलङ्काका विभिन्न राजनीतिक दलहरूले गरेको मागका आधारमा राष्ट्रपति गोटाबायाले यो निर्णय गरेको जानकारी सभामुखको कार्यालयले प्रकाशन गरेको सो विज्ञप्तिमा जनाइएको छ ।

यसअघि यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि आफ्नो पदबाट राजीनामा दिने बताइसकेका छन् । प्रधानमन्त्री विक्रमासिंघे र राष्ट्रपति गोटबायाले नै पद त्याग गर्नुपर्ने माग यहाँका राजनीतिक दलहरूले संसदमा गरिरहेका थिए । सोही मागका आधारमा उहाँहरूले पद त्याग गर्ने निर्णय गरेका बताइएको छ ।

उता शनिबार नै राष्ट्रपति गोटबाया र प्रधानमन्त्रीको निवास र कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेका थिए । उनीहरूले प्रधानमन्त्री विक्रमासिंघेको घरमा आगजनी समेत गरेका छन् ।

उता राष्ट्रपति गोटाबायाले पनि शनिबार नै आफ्नो सरकारी निवास  छोडेका यहाँका सञ्चारमाध्यमहरूले जानकारी गराएका छन् । रासस


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #गोटाबाया राजपाक्षे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545