प्रधानमन्त्री देउवाद्वारा गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रेड युनियन काँग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गर्नुभएको छ ।
कोइरालाको ९९ औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला श्रमिक स्मृति भवन अनामनगरमा निर्माण गरिएको सो अर्धकदको शालिकको आज बिहान प्रधानमन्त्री देउवाले अनावरण गर्नुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले गिरिजाबाबु कहिल्यै नथाक्ने नेता मात्र होइन मिलनसार पनि हुनुहुन्थ्यो भन्नुभयो । “कठिन राजनीतिक आरोह, अवरोह पार गर्नुभएका कोइरालाले नेपालमा लोकतन्त्र स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ, उहाँ युग पुरुष र शिखरपुरुष हुनुहुन्छ”, सभापति देउवाले भन्नुभयो ।
प्रधानमन्त्री देउवाले गिरिजाबाबुले मजदुर आन्दोलन सुरु गर्नुभएको विराटनगरस्थित जुटमिलमा ऐतिहासिक सङ्ग्रहालय बनाउन सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले हतियार उठाएर सशस्त्र विद्रोह सुरु गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको ठूलो योगदान रहेको स्मरण गर्नुभयो ।
“गिरिजाबाबुले अगाडि सार्नुभएको सहमति, सहकार्य, एकता आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छ”, उहाँले भन्नुभयो । म जे बोल्छु, त्यही गर्छु भन्ने गिरिजाबाबुको अडान भएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो ।
कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन कोइरालाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले संविधानको रक्षाका लागि आजका दिनमा गठबन्धनलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । उपसभापति गुरुङले स्वर्गीय कोइराला कुशल सङ्गठनकर्ता भएको बताउनुभयो ।
कांग्रेस नेत्री सुजाता कोइरालाले श्रमिकको दुःख बुझ्ने नेता गिरिजाबाबु भएको बताउनुभयो । नेत्री कोइरालाले गिरिजाबाबुले मजदुर आन्दोलन सुरु गर्नुभएको विराटनगरस्थित जुट मिलभित्रका ऐतिहासिक सामग्रीलाई सङ्ग्रहालय स्थापना गरी संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले मजदुरको हक, अधिकार रक्षाका लागि नेपाल ट्रेड युनियन काँग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले ट्रेड युनियन काँग्रेसका संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री गिरिजाबाबुको शालिक अनावरण गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
विसं २०४७ मा स्थापना भएको ट्रेड युनियन काँग्रेसमा हाल २७ सङ्घ आबद्ध रहेको ट्रेड युनियनका उपाध्यक्ष अजयकुमार राईले जानकारी दिनुभयो । ट्रेड युनियन काँग्रेसमा हाल चार लाख श्रमिक आबद्ध छन् । आज अनावरण गरिएको अर्धकदको शालिक पाटन औद्योगिक क्षेत्रका कलाकार धर्म शाक्यले निर्माण गर्नुभएको हो । रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #गिरिजाप्रसाद कोइराला, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्