आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ ।
नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहर लाने काम रोकिएको हो । सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहरको डङ्गुर पार गर्नुपर्ने बाध्यता छ ।
वर्षाको समय सुरु भएसँगै फोहर कुहिन थालेको छ । कुहिएको फोहर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ । कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहरका गाडी जान सकेका छैनन् ।
सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । बर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहर व्यवस्थापन हुँदै आएको छ । हरेक वर्ष वर्षातको समयमा नियमित पानी पर्न थालेपछि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ ।
गत फागुनदेखि जेठ सम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो । सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बनेपनि बाटोको कारण सहज भने भएको छैन ।
यसैबीच कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ । विभागका अनुसार फोहर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक रु पाँच सय जरिवाना गरिनेछ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँ उपत्यका, #फोहर व्यवस्थापन, #बञ्चरेडाँडा, #सिसडोल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्