Techie IT
बुधबार, मंसीर ३,२०८३

वाचन शिरोमणि पण्डित नारायण पोखरेलको स्मृतिमा राष्ट्रिय पुरस्कार घोषणा


 

काठमाडौँ, १ असार । वाचन शिरोमणि पण्डित स्वर्गीय नारायणप्रसाद पोखरलको स्मृतिमा राष्ट्रिय पुरस्कार घोषणा गरिएको छ । नारायण पोखरल प्रतिष्ठानले स्वर्गीय पोखरेलको ६८ औँ जन्मजयन्तीको अवसर पारेर आज राष्ट्रिय पुरस्कार घोषणा गरेको हो ।

प्रतिष्ठानको केन्द्रीय कार्यालयमा सितापाईलामा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका प्रमुख संरक्षक वाचन पण्डित दिनबन्धु पोखरेलले स्वर्गीय पोखरेलको नाममा रु ५० हजार एक नगदसहितको पुरस्कार घोषणा गर्नुभएको हो । नेपालको आध्यात्मिक र धार्मिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिने उक्त पुरस्कार स्वर्गीय पोखरेलको स्मृति दिवसको अवसरमा बैशाख २३ गते प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा प्रतिष्ठानका प्रमुख संरक्षक पोखरेलले समाजमा रहेको छुवाछूत र जातीय विवेदको अन्त्य गर्दै समाज रुपान्तरणमा स्व पोखरेलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । पोखरेलले भौतिकवाद र आध्यात्मिकवादको संयोजनबाट देशलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष भवानी देवकोटाले आध्यात्मिक चिन्तनका माध्यमबाट समाज विकासमा स्व पोखरेलले खेलेको भूमिकाको महत्वपूर्ण रहेको बताउनुभयो । प्रतिष्ठानका सचिव डा रामहरि ढकालले समाजमा नाम र कृति छोडेर परलोक हुने थोरै व्यक्तिमध्ये पण्डित पोखरेल एक भएको बताउनुभयो । विस २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मनुभएका स्व पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार १३६ पुराण वाचन गर्नुभएको थियो ।

धार्मिक क्रियाकलापबाट मानिसलाई सामाजिक विकासमा अभिप्रेरित गर्ने पण्डित पोखरेल नेपालका पहिलो धार्मिक शहीद हुनुहुन्छ । उहाँको विस २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उहाँलाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो ।

पण्डित पोखरेलको स्मृतिमा प्रतिष्ठान स्थापना गरेर काठमाडौँको नागार्जुन नगरपालिकास्थित रामकोटमा २० रोपनी क्षेत्रफलमा बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको छ । उक्त धामसहितको केन्द्र निर्माणका लागि रु ४० करोड लाग्ने प्रतिष्ठानका कोषाध्यक्ष बद्री पोखरेलले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #दिनबन्धु पोखरेल, #नारायणप्रसाद पोखरल


तपाईको कमेन्ट लेख्नुहोस्