संघीय सरकारले सडक नबनाउँदा मेयरलाई मर्का
बुटवल । संघीय सरकारको क्षेत्राधिकारमा पर्ने बुटवलको मुख्य सडकका कारण बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मर्का पर्दै अलोकप्रिय भएका छन् । संघ सरकारले बनाउनुपर्ने आयोजना समयमै नबनाइँदा यसको दोष नागरिक स्तरबाट बुटवलका मेयरले खेप्नुपरेको हो ।
स्थानीय तह निर्वाचनका लागि बुटवल उपमहानगरपालिका प्रमुखमा फेरि दोहोरिन चाहेका सुवेदीलाई यो सडक नै मुख्य तगारो बनेको छ । उपमहानगरको क्षेत्रभित्र पर्ने भित्री सडकहरूमा थुप्रै काम भए पनि मुख्य राजमार्ग क्षेत्र अस्तव्यस्त हुँदा बुटवलवासीले मेयरले केही गर्न नसकेको आरोप लगाउँदै आएका छन् । जसका कारण उनले टिकट पाउने सम्भावनासमेत कमजोर बनेको आंकलन गर्न थालिएको छ ।
रुपन्देहीको बुटवलमा सडक क्षेत्रभित्र परेका घरमा डिभिजन सडक कार्यालयले डोजर लगाएको भत्काएको एक वर्ष बित्यो । तर, घर भत्काएको ६ महिनासम्म ठेकेदार कम्पनीले सडक निर्माणको कामलाई अगाडि बढाउनुको साटो बेपत्ता भयो । त्यसपछि सम्पर्कमा आए पनि ठेकेदारले काम अगाडि बढाएन ।
यो सडक निर्माणको ठेक्का साढे तीन वर्षअघि नै द कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको थियो । कम्पनीका सञ्चालक सुमित श्रेष्ठले यसअघि अब काम अगाडि बढाउने प्रतिबद्धता जनाए पनि काम नगरेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए । ‘अब असारपछि नयाँ टेण्डर प्रक्रिया सुरु हुन्छ,’ उनले भने ।
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक ६ लेनको बनाउने क्रममा केही घरधनीले अदालतमा मुद्दा हालेपछि सडक विस्तारको काम लामो समय रोकिएको थियो । पछिल्लो पटक सडक विस्तार आयोजनाले गत वर्षको पुसमा घरधनीलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । उक्त म्यादमा केही घर धनीले सडक क्षेत्र मिचेर बनेका संरचना भत्काउन सुरु गरे पनि केहीले अटेर गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरी सडक मिचेर बनाएका घर टहरा भत्काइएको थियो ।
पछिल्लो रिट निवेदनमा गत वर्षको असार ९ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले गतवर्षको पुस २० गते गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।
उक्त सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३५७ जनाले सडक क्षेत्र मिचेकोमा सबै घर भत्काइसकिएको छ । सडक निर्माणको जिम्मा पाएको कन्जनजंघा बिरुवा जेभिले पेश्कीस्वरुप आठ करोड रुपियाँ लगिसकेको छ । उसले ४१ करोड २३ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । आगामी असारसम्म सडक बिस्तारको काम सक्ने गरी ठेकेदारलाई कार्यादेश दिइएको थियो ।
स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा बुटवलकै बाटो देखाएर विपक्षीले ‘प्रहार’ गिरहेको छ । आफ्नै क्षेत्राधिकार नभएको सडककै कारण बुटवलका नगर प्रमुख सुवेदीले अपजस पाइरहेका छन् ।
बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीका अनुसार मुख्य राजमार्ग क्षेत्रमा संघ सरकारले काममा ढिलाइ गरे पनि बुटवलका आन्तरिक बाइपास सडक भने सुन्दर बनेका छन् । नगर प्रमुख सुवेदीले अबको एक महिनामा मुख्य राजमार्ग बाहेक बुटवलका सबै बाटोहरू नाली सहित फराकिला र चिटिक्क बन्ने बताए ।
उनले बुटवलको सडकमा संघीय सरकारले, सडक विभागले ठेक्का लगाएका ठाउँमा दोहोरो खर्च गर्न नपाइने भएकाले आफैँले लगानी गर्न नसकेको बताए । ‘यही सडकले बुटवल वासीलाई अन्याय भएपछि मैले संघीय सरकारलाई भनेको छु, ठेकेदारलाई निलम्बन गरेर बुटवललाई अख्तियारी दिनुस्, डेढ महिनामा सडक पिच हुन्छ, तर विभागले यो सुन्दैन,’ उनले भने ।
एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवलमा सडक बन्न नदिन गृहजिल्ला रुपन्देहीका कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणले भूमिका खेलिरहेको पनि एमाले वृत्तमा चर्चा छ ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्