Techie IT
मंगलबार, वैशाख २३,२०८२

प्रतिनिधि सभामा आजदेखि एमसीसीमाथिको छलफल शुरू हुँदै


काठमाडौं, १२ फागुन । विवादमा परेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आज बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा छलफलका लागि प्रस्तुत गरिने भएको छ ।

संसद् सचिवालयले सरकारले एमसीसीमाथि छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र एमसीसीबीच भएको अनुदान सहयोग सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद्का महासचिव डा. भरतराज गौतमले बताए ।

आजको कार्यसूचीमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि छ । सम्भावित कार्यसूचीलाई अब आज बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिने छ ।

एमसीसीको सैद्धान्तिक बहसमा सांसद्हरुले नाम टिपाएर धारणा राख्न पाउने छन् । सैद्धान्तिक छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनुपर्ने छ । जवाफपछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुने छ ।

सैद्धान्तिक छलफलपछि दफावार छलफल हुने छ । दफावार छलफलमा सम्झौताको दफावार रूपमा विस्तृत छलफल हुने छ । दफावार छलफलपछि भने सम्झौता पारितको चरणमा जाने छ ।

पारित गर्नका लागि प्रतिनिधि सभामा उपस्थित सङ्ख्याको बहुमत आवश्यक पर्नेछ ।

यसैबीच नेपाली काँग्रेसले आजको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदलाई निर्देशन दिएको छ । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा रहने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमसीसी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545