Techie IT
बिहीबार, मंसीर ४,२०८३

देउवालाई रामचन्द्र कै प्रश्न, एमसीसीबारे तपाईका महामन्त्रीहरुको धारणा के हो ?


काठटमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘एमसीसीबारे मन्त्री–महामन्त्रीको धारणा के हो ?’ भनेर प्रश्न गर्नुभएको छ ।

बालुवाटारमा भेटेर प्रधानमन्त्री समेत रहनुभएका देउवालाई रामचन्द्रले एमसीसीबारे पार्टीका पदाधिकारीहरु किन बोल्दैनन् ?

भनी प्रश्न गर्नुभएको छ । सत्तारुढ गठबन्धनका संयोजक समेत रहनुभएका नेता पौडेलले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितको बैठकमा देउवालाई प्रश्न गर्नुभयो ।

 

प्रचण्ड र माधव नेपाल हेरिरहनुभयो । कुनै प्रतिक्रिया आएन स्रोतले भन्यो । नेता पौडेलले एमसीसीबारे जनतामा भ्रमपूर्ण प्रचार भएपनि पार्टी संयन्त्रले आवश्यक प्रतिवाद नगरेकोमा आपत्ति जनाउनुभयो ।

‘तपाई एमसीसी पारित गरौं भन्नुहुन्छ । यसमा तपाईका मन्त्रीहरु किन बोल्दैनन् ? तपाईका उपसभापति र महामन्त्रीहरु किन बोल्दैनन् ? कि उनीहरु कम्युनिष्टका पछाडि छन् ?’, पौडेलको प्रश्न थियो ।

पौडेलले पार्टी एमसीसीको पक्षमा भएपनि पदाधिकारीहरु ‘पपुलर एजेण्डा’को पछाडि कुदेको आरोप समेत लगाउनुभयो ।

‘तपाईका उपसभापति र महामन्त्रीहरु एमसीसीको पक्षमा छन् कि छैनन् ? तिनले पनि बोल्नुपर्यो नि । कि कम्युनिष्टका पपुलर एजेण्डामा हिड्न छुट हो ?’, पौडेलको आक्रोश थियो ।

पौडेलले सभापतिले एमसीसी पारित गर्नुपर्छ भन्ने पदाधिकारीले केही नबोल्ने छुट नभएको बताउनुभयो । ‘कि एमसीसी चाहिन्छ भन्नुपर्यो कि चाहिदैन भन्नुपर्यो । जिब्रो यताउता गरेर हुँदैन । हामीले चै काँध थाप्नुपर्ने तपाईका मन्त्री महामन्त्री चै नबोल्ने ?’, पौडेल झोक्किनुभयो ।

उहाँले एमसीसीबारे भ्रम चिरेर अगाडि बढ्नुपर्ने भन्दै त्यसका लागि पार्टी संयन्त्र मुखरित हुनुपर्नेमा जोड दिनुभयो । ‘परराष्ट्रमन्त्रीको काम विदेश घुम्नेमात्रै हो ? एमसीसीबारे जनतालाई प्रष्ट भन्नुपर्दैन ?’, पौडेलले देउवालाई थप प्रश्न गर्नुभयो ।

त्यसक्रममा जवाफमा नेताहरुले ‘अध्ययन भइरहेको’ बताएपछि पौडेलले ‘पहिले अध्ययन गर्ने कि प्रचार ?’ भनेर प्रतिप्रश्न गर्नुभयो ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हालै लिपुलेक प्रकरणमा संयुक्त वक्तव्य जारी गर्नुभएको थियो ।

एमसीसी प्रकरणमा भने पछिल्लो समय महामन्त्रीद्वयको धारणा सार्वजनिक भइसकेको छैन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्