Techie IT
आईतबार, मंसीर ८,२०८२

समयमै चुनाव गराउन प्रधानमन्त्री देउवालाई राष्ट्रपतिको आग्रह


राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको भावनाअनुसार तोकिएकै समयमा चुनाव गर्न सरकारलाई आग्रह गरेकी छन् ।

बिहीबार शीतल निवास पुगेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले लोकतन्त्रको विशेषता नै आवधिक चुनाव भएकाले संविधानको मर्म र भावनाअनुसार स्थानीय तह र अन्य चुनाव गर्न आग्रह गरेको राष्ट्रपतिका विज्ञ सल्लाहकार टीका ढकालले जानकारी दिए ।

तोकिएको समयमा चुनाव गर्नु संविधानको कार्यान्वयनसँग पनि जोडिएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा राष्ट्रपतिले जोड दिएको ढकालले बताए । भेटमा प्रधानमन्त्री देउवाले संविधानको मर्मअनुसार नै चुनाव गर्नका लागि छलफल भइरहेको बताए । प्रतिपक्षी दलले लगातार संसद् अवरोध गर्दा चुनावसहित संविधानको कार्यान्वयनसँग जोडिएका अन्य काममा समेत अफ्ठेरो भइरहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । सबै दलसँग छलफल गरेर चुनावको बारेमा छिटै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको भनाइ थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच झन्डै एक घण्टा कुराकानी भएको थियो ।

आउँदो जेठ ६ गतेअघि नै स्थानीय तहको चुनाव हुनुपर्ने भए पनि सरकारले मिति घोषणा गरेको छैन । निर्वाचन आयोगले वैशाखमै चुनाव गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । तर, सत्ता गठबन्धनले भने स्थानीय चुनावलाई आगामी हिउँदमा सार्ने तयारी गरिरहेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #चुनाव


तपाईको कमेन्ट लेख्नुहोस्