सेनाले पृथ्वी जयन्तीमा पदयात्रादेखि चित्रकलासम्म आयोजना गर्दै
नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने तयारी गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सैनिक मुख्यालय जङ्गीअड्डास्थित नेपाली सेनाका संस्थापक प्रथम सेनापतिको शालिकमा माल्यार्पण, सलामी र सम्मान अर्पण गर्नु हुनेछ । सेनाले मुलुक एकीकरणका अभियन्ता सम्मानमा एकता दिवसका अवसरमा यस वर्ष दिव्योपदेश प्रवचन, नालापानी चलचित्र प्रदर्शनी तथा कविता, हाजिरी जवाफ, चित्रकला र लेख-रचना प्रतियोगिता आयोजना गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
विसं १७७९ पुस २७ गते गोरखामा जन्मिनुभएका पृथ्वीनारायण शाहले विसं १७९९ चैत २५ गते राजा भएसँगै नेपाल एकीकरण अभियान सुरु गर्नुभएको थियो । सेनाले नेपाल राष्ट्र एकीकरणका सन्दर्भमा प्रयोग भएको मार्गमा विगत केही वर्षदेखि पृथ्वी जयन्तीका अवसरमा गोरखाबाट काठमाडौँसम्म ‘एकीकरण पदयात्रा’ गर्दै आएको छ । नेपाली सेना, स्थानीय जनता र विद्यार्थी सामेल पदयात्रा पुस २० गते गोरखाबाट सुरु भई धादिङ, नुवाकोट र नागार्जुन हुँदै पुस २७ गते हनुमानढोका आइपुग्ने छ । त्यसलगत्तै हनुमानढोकाबाट राष्ट्रनिर्माताको तस्वीर बग्गीमा राखेर नगर परिक्रममा गरिनेछ ।
नगरपरिक्रमा एकीकरण पदयात्रा टोली, शार्दुलजङ्ग गुल्म, सेनाका सकल दर्जा तथा राष्ट्रिय सेवा दलका क्याडेट सहभागी रहने छन् । त्यसपछि पदयात्रा टोली सैनिक मुख्यालयमा हुने कार्यक्रममा सहभागी हुनेछ । सेनाले प्रत्येक कमाण्डबाट छनोट भई आएका प्रतियोगी सहभागी गराई सैनिक मुख्यालयमा पृथ्वी जयन्तीका अवसरमा पुस २० गते कविता, २१ गते चित्रकला र २५ गते लेखरचना प्रतियोगिता गर्नेछ । पुस २७ गते प्रत्येक सैनिक महाविद्यालय र विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीको टिम बनाएर हाजिरी जवाफ प्रतियोगिता गर्ने जानकारी दिइएको छ ।
सोही दिन जङगीअड्डा परिसरमा वडामहाराजाधिराजको दिव्योपदेश प्रवचन र नेपाल एकीकरण अभियानसँग सम्बन्धित ‘नालापानी’ सम्बन्धी वृत्तचित्र प्रदर्शनी गरिने छ । आफ्ना भारदारलाई एकीकरण अभियानमा उठाउनुपरेको कष्ट, सफल बनाउन लिएका नीति तथा राज्यलाई जोगाउन सन्ततिले ध्यान दिनुपर्ने विषयवस्तुका विषयमा उहाँले दिनुभएको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ । ती दिव्योपदेशमा गृहनीति, परराष्ट्रनीति, अर्थनीति, खेतीयोग्य जमिनको रक्षा, खानी, लडाकु सैनिक र सस्त्र सङ्ग्रह गरी देशको रक्षा गर्ने विषयवस्तु समेटिएका छन् । प्रत्येक वर्ष पुस २७ गते मुलुकभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हर्षाेल्लासका साथ मनाइँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय एकता दिवस’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्