यसरी हुनेछ आज एमालेको राष्ट्रिय महाधिवेशनको उद्घाटन
भरतपुर, १० मंसिर । एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।
अध्यक्ष केपी ओलीले दिउँसो १ बजे नारायणी नदीको किनारामा राष्ट्रिय महाधिवेशनको उदघाटन गर्नेछन् । एमालेलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनेछन् ।
एमालेले उद्घाटन सत्रमा देशभरबाट झण्डै पाँच लाख नेता कार्यकर्ता सहभागी हुने दाबी गरेको छ ।
ओलीसहितका नेताहरू बिहीबार चितवन आइपुगेका छन् । बन्दसत्रमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुँदैछन् ।
५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा सेल्फी प्वाइन्ट बनाइएको छ । चितवनका हरेक घरमा निमन्त्रणा पत्र पठाइएको छ ।
सुरक्षाका लागि प्रशासनले १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । नारायणगढ बजार क्षेत्रमा मालवाहक गाडी आवतजावतमा रोक लगाइएको छ । अत्यावश्यक गाडी चल्न पाउने व्यवस्था गरिएको छ ।
महाधिवेशनको उद्घाटन अगाडि चितवन जिल्लाका सात ठाउँबाट जुलुस निकालिने भएको छ । विभिन्न ठाउँबाट आएकाहरूलाई भरतपुरका सात ठाउँबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ ।
एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागीहरू भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन् । पूर्वबाट आउने गाडीलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको छ ।
पश्चिम नेपालबाट आउनेहरूलाई पुल्चोकबाट जुलुससहित सभामा सहभागी गराइने भएको छ । पश्चिमबाट आउने गाडीलाई गैँडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ ।
मुग्लिनको बाटो हुँदै आउने सहभागीहरूलाई आँटपारीबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ । त्यस ठाउँमा रोकिएका गाडीलाई आँटपारीमा रहेको नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिने भएको छ ।
चितवनको माडी, जगतपुर, गीतानगरतर्फबाट आउनेहरूलाई हाकिमचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । ती ठाउँबाट आउने गाडीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिने छ ।
भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौली लगायतका क्षेत्रबाट आउने सहभागीहरूलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराइने व्यवस्था गरिएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागीहरू बेलचोकबाट जुलुसमा सहभागी हुनेछन् ।
त्यहाँ आउने गाडीलाई त्यही क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ । कालीका नगरपालिका र भरतपुर– ११ तर्फबाट आउने सहभागीहरू विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एमालेको १०औँ राष्ट्रिय महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्