आजदेखि खुल्यो पशुपतिनाथ मन्दिर
पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराउन थालिएको छ ।
मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ । विशेष पूजा भने आजदेखि खुला नगरिएको पशुपति विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । आज बिहानदेखि मन्दिर खोल्न बुधबार नै सुरक्षा समितिको बैठक बसी तयारी गरिएको उहाँले सुनाउनुभयो ।
साढे चार महिनापछि खोलिएको मन्दिरमा भक्तजनलाई सहज तरिकाले दर्शन गराउन आवश्यक सबै तयारी गरिएको कोषले जनाएको छ । साढे चार महिना भक्तजनका लागि मन्दिर बन्द गर्नुपरेकामा बिहीबार कोषले क्षमापूजा गरेको थियो । विसं २०७६ चैतमा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ देखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो ।
विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो । महाशिवरात्रिका अवसरमा गत वर्ष फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय मन्दिर खुला गरिएको थियो ।
यसपटक पनि कोरोना जोखिमको मात्रा हेरेर विशेष पूजा, साविकबमोजिम नै मन्दिर खुलालगायत निर्णय गरिने कोषले जनाएको छ । कोरोना महामारीका कारण विसं २०७७ र २०७८ साउन एवं हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मूल मन्दिर बन्द गरिएको छ ।
आजदेखि पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिएको कोषले जनाएको छ । आज गणेश चतुर्थी पर्व परेकाले चन्द्रविनायक मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पशुपतिनाथ मन्दिर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्