Techie IT
बुधबार, मंसीर ३,२०८३

एसईईको नतिजा साउन मसान्तभित्र


काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मशान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

हाल जिल्ला जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आउने क्रममा रहेको र साउन अन्तिमसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताउनुभयो ।

‘अहिलेसम्मको हाम्रो तयारी साउन मसान्तभित्र परीक्षाफल प्रकाशित गर्ने हो । साउन पहिलो हप्ताभित्र सबै जिल्लाबाट मूल्यांकन नतिजा प्राप्त भयो भने सकिन्छ’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार हालसम्म २५ जिल्लाबाट एसईई मूल्यांकनको रिपोर्ट आएको छ । बाढी पहिरो, निषेधाज्ञा, विद्यालयले पठाएको नतिजामा समस्या देखिएको कारण देखाएर धेरैजसो जिल्लाले परीक्षा नियन्त्रण कार्यालयमा रिपोर्ट पठाएका छैनन् ।

कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८ अनुसार विद्यार्थीको मूल्यांकन नतिजाको हार्डकपी र सफ्टकपी विद्यालयले असार २० भित्र जिल्ला शिक्षा विकास समन्वय इकाइलाई दिनुपर्ने थियो । त्यसपछि इकाइले असार मसान्तभित्र परीक्षण नियन्त्रण कार्यालयमा बुझाउने व्यवस्था थियो ।

गत जेठ १३ गतेदेखि तय भएको माध्यमिक शिक्षा परीक्षा कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण स्थगित भएको थियो । भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने कार्यविधि बनाएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #एसईईको नतिजा


तपाईको कमेन्ट लेख्नुहोस्