एमाले एकता फेरि जटिल
काठमाडौं, ३१ असार । सर्वोच्च अदालतको परमादेशका कारण सत्ताबाट बाहिरिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको सम्पूर्ण दोष वरिष्ठ नेता माधवकुमार नेपालमाथि लगाएका छन् । सरकारी निवास बालुवाटार छाडेर बुधबार बालकोटस्थित आफ्नै निवास पुगेका ओलीले नेपालमाथि गम्भीर आरोप लगाउँदै उनलाई एमालेमा कुनै ठाउँ नरहेको घोषणा गरेका छन् ।
ओलीको यो घोषणाले एमाले विवाद झनै जटिल बनाइदिएको छ । बालकोटमा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले नेपालको राजनीतिक चरित्रमाथि प्रश्न उठाए । ‘हाम्रै पार्टीभित्र विभिन्न शक्तिहरूको घुसपैठ यस्तो भयो, पार्टीका कमजोर तत्त्व, बिकाउ मालहरू प्रतिक्रियावादीका पछिपछि लागेर आफ्नै सरकार ढाल्नका लागि कहिले राष्ट्रपतिकहाँ विरोधीलाई अगाडि लगाएर पुगे, कहिले अदालत पुगे,’ ओलीले भने, ‘माधव नेपालजस्ता लाजसरम हराएका मान्छेहरू ।’
ओलीले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने आफ्नै पार्टीका २६ सांसदलाई लक्ष्य गर्दै उनीहरू ‘बिकाउ माल’ भएको टिप्पणी गरेका थिए । त्यसपछि उनले यसको नेतृत्व नेपालले गरेकाले उनलाई पार्टीमा कुनै ठाउँ नरहेको भन्दै सम्भावित कदमबारे बोले ।
‘विश्वासघाती र अन्तरघाती तत्त्वहरूको पछाडि लाग्ने केही व्यक्तिहरूको हकमा कमीकमजोरी महसुस गर्दै पार्टीमा आएर काम गर्न चाहे मौका दिन्छौं,’ ओलीले भने, ‘तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमी स्वीकार्ने कुनै ठाउँ छैन । नेपाली जनताले माधव नेपालजस्ता राष्ट्रिय गद्दारलाई कुनै क्षमा गर्दैनन् ।’
ओलीको यस्तो भनाइ यतिबेला आएको छ, जतिबेला दोस्रो पुस्ताका नेताहरू सम्मिलित कार्यदलले दसबुँदे सहमतिको प्रस्ताव गरेर दुवै शीर्ष नेतालाई बुझाएको छ । मंगलबार मात्रै नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, ओली पक्षका संयोजक सुवास नेम्वाङ र सदस्य विष्णु पौडेलले कोटेश्वर पुगेर नेता नेपाललाई दसबुँदे सहमति बुझाएका थिए । अध्यक्ष ओलीलाई भने सोमबारै बुझाएका थिए ।
दोस्रो तहका नेताहरूले सहमतिको प्रयास जारी राख्दा शीर्ष नेताबाट आएका अभिव्यक्ति एकताका लागि बाधक देखिएका छन् । सरकार छाड्नु परेकामा ओली नेपालप्रति धेरै आक्रोशित छन् । आफ्नो राजनीतिक एजेन्डाको जित भएकाले नेपाल भने अब ओलीसँग ‘कम्प्रमाइज’ नगर्ने मनस्थितिमा छन् । बबिता शर्माले कान्तिपुर दैनिकमा समाचार लेखेकी छिन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले एकता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्