Techie IT
बुधबार, मंसीर ३,२०८३

ओलीद्धारा क्षतिग्रस्त सिन्धुपाल्चोक निरीक्षण


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्न शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्धी सिन्धुपल्चोक प्रस्थान गरिसकेको प्रधानमन्त्रीका सञ्‍चार विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले बाढीबाट क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनालगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्ने कार्यक्रम छ । ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्‍याएको क्षतिको साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नुहुनेछ ।

प्रधानमन्त्रीबाट पीडितलाई राहत वितरण तथा घोषणाको कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले प्रधानमन्त्रीबाट सिन्धुपाल्चोकको विभिन्न स्थानमा हुने निरीक्षणको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।

मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री ओलीको सहभागिता रहने उहाँले बताउनुभयो । पोखरेलका अनुसार कार्यक्रममा प्रधानमन्त्रीसँग बाढीपहिरो पीडित, जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकतासँग अन्तरक्रिया कार्यक्रमसमेत तय गरिएको छ ।

प्रधानमन्त्रीले सोही अवसरमा राहत र पुनर्निर्माण प्याकेजको घोषणा गर्ने कार्यक्रम तय भएको हो । त्यसैगरी जिल्ला विपत् व्यवस्थापन समितिले बाढीपहिरोबाट जिल्लामा भएको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराउनेछ । यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बुलगायत विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #ओलीद्धारा क्षतिग्रस्त सिन्धुपाल्चोक निरीक्षण


तपाईको कमेन्ट लेख्नुहोस्