Techie IT
मंगलबार, भदौ ९,२०८३

गृह सचिव बन्न आधा दर्जन सचिवहरूको दौडधुप को–को ?


काठमाडौं, १९ असार । गृह सचिव बन्न आधा दर्जन सचिवहरूका बीच दौडधुप शुरु भएको छ ।

सरकारले चाहेमा कार्यसम्पादन राम्रो गर्न सक्ने सक्ष्म व्यक्तिलाई गृह सचिव बनाउन सक्छ । तर, गृह सचिव बन्नकै लागि विवादित व्यक्तिले अलिक धेरै गृहकार्य गरेपछि सिंहदरबारतिर बबण्डर भएको छ ।

पहिलो चरणको कोरोना महामारीका बेला ‘ओम्नी काण्ड’ गरेर सरकारको बद्नाम गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालीन सचिव यादव कोइरालाको धेरै चलखेल शुरु भएको छ ।

कोइरालाकै कारण पहिलो चरणको कोरोना महामारीका बेला सरकारको धेरै आलोचना भएको थियो । ओम्नी काण्डले सरकार बद्नाम भएको थियो । अहिले उनै कोइराला गृह सचिव बन्न सबैभन्दा धेरै चलखेलमा रहेको स्रोतको भनाइ छ ।

सचिव कोइरालाले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बयान समेत दिएका थिए । उनीसहितका पदाधिकारी र संलग्न व्यक्तिहरूलाई छानविन गरेर कारबाहीका लागि लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदनसहित लेखेर पठाएको थियो । लेखा समितिमा कोइरालाले समेत बयान दिएका थिए ।

लेखा समितिका तत्कालीन सभापति भरत शाहले स्वास्थ्य सामग्री खरिद काण्डमा भएको ओम्नी काण्ड नेपालको इतिहाँसमा ठूलो काण्ड भएको बताए । ‘हामीले कारबाहीका लागि अख्तियारलाई लेखेर पठायौँ । अहिलेसम्म कारबाही भएको छैन’, शाहले भने, ‘ओम्नी काण्डका दोषीहरूलाई अख्तियारले हदैसम्मको कारबाही गर्नुपर्छ । भ्रष्टाचार र अनियमितता गर्नेलाई कारबाही गर्नुपर्छ ।’

लेखा समितिका सदस्यहरूले सचिव कोइरालासहितका व्यक्तिलाई ¥याख¥याख बनाएका थिए । समितिका सदस्य समेत रहेका सांसदहरूले कोरोनाका बेला राम्रोसँग कार्यसम्पादन नगरेको, स्वास्थ्य सामग्री खरिदमा करोडौँ रुपियाँका चलखेल भएको भन्दै ओम्नी काण्ड गरेकाहरूलाई कारबाहीको माग गरेका थिए ।

सचिव कोइरालासहितका जिम्मेवार व्यक्तिविरुद्धको ओम्नी काण्डको भ्रष्टाचारको मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगेको छ ।

कोइराला अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयको सचिव छन् ।

वामदेव गौतम गृह मन्त्री बनेका बेला कोइराला ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी थिए । गृह सचिव बन्न कोइरालाले एमालेका नेता गौतमका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि एमालेका नेताहरूसँग सम्वाद गर्दै आएको उच्च स्रोतले जनाएको छ ।

गृह सचिव बन्ने दौडमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य गौतम, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव एकनारायण अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा, स्वाथ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललगायतका सचिवहरू पनि रहेको चर्चा छ ।

सरकारले गृह सचिवसहितका विभिन्न मन्त्रालयका सचिवहरूलाई सरुवाको तयारी गरेको छ । एक हप्ताभित्रै सचिवहरूको सरुवा हुन सक्ने स्रोतको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गृह सचिव


तपाईको कमेन्ट लेख्नुहोस्