Techie IT
बिहीबार, वैशाख २५,२०८२

पुनःनिर्मित घरमा संरचना विस्तारका लागि कार्यविधि तयार

‘लोड वियरिङ’ घरहरुमा कोठा तथा तला थप्न चाहने लाभग्राहीलाई सहज हुने


काठमाडौं ।भूकम्पपछि पुनःनिर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा कोठा तथा तला थप्न चाहने लाभग्राहीलाई बाटो खुलेको छ । यस्ता लाभग्राहीलाई मध्यनजर राखेर तयार गरिएको कार्यविधिमाथि सोमबार बृहत् छलफल तथा अन्तरक्रिया गरिएको छ ।

कार्यविधिमाथि विभिन्न सरकारी निकायका अधिकारी, राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञ, स्थानीय जनप्रतिनिधि, पुनःनिर्माणमा खटिएका प्राविधिक एवं विकास साझेदार प्रतिनिधिबीच अन्तरक्रिया भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) को प्राविधिक सहयोगमा कार्यविधि तयार पारेको हो ।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यविधि कार्यान्वयनको केन्द्रविन्दु स्थानीय तहलाई बनाउनुपर्ने उल्लेख गरे। सम्बन्धित केन्द्रीय निकायले मेरुदण्डका रूपमा काम गर्नुपर्ने भन्दै अधिकृत ज्ञवालीले थपिएका संरचनाहरु पनि भूकम्प प्रतिरोधी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माणमा अग्रसरता लिइएको बताए ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइका उपनिर्देशक झप्परसिंह विश्वकर्मा र एनसेटका बलियो घर कार्यक्रम व्यवस्थापक रञ्जन ढुङ्गेलले मस्यौदा कार्यविधि तथा १० बुँदे पुस्तिकाका बारेमा स्पष्ट पारे ।

इञ्जिनीयर एवं निर्माण प्राविधिकलाई उपयोगी हुनेगरी विस्तृत इञ्जिनीयरिङ ड्रइङ र डिजाइनसहित कार्यविधिको मस्यौदा तयार गरिनुका साथै घरधनी एवं निर्माणकर्मीले बुझ्नेगरी नेपाली भाषामा १० बुँदे सरल पुस्तिका पनि तयार पारिएको बताइएको छ । कार्यविधिले ढुङ्गामाटो तथा सिमेन्टको जोडाइ भएका घरमा दायाँ–बायाँ वा अगाडि–पछाडि भूकम्प प्रतिरोधी ढङ्गले विस्तार गर्न सकिनेबारे विस्तृत उल्लेख गरेको छ । तला थप्नका लागि भने यसअघि तयार भइसकेको ‘हाइव्रिड स्ट्रक्चर म्यानुअल’ उपयोगी हुने बताइएको छ ।

प्राधिकरणका कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले कार्यविधिलाई अन्तिम रूप दिइएपछि प्राधिकरणको कार्यकारी समितिबाट पारित गरी कार्यान्वयनमा लगिने र प्राधिकरणपछि स्थानीय सरकारका साथै शहरी विकास तथा भवन निर्माण विभाग मुख्य कार्यान्वयनकर्ता हुने बताउनुभयो । विभागका महानिर्देशक नवराज प्याकुरेलले आगामी दिनमा बन्ने घरहरु विस्तारका लागि पनि यो कार्यविधि उपयोगी हुने विश्वास व्यक्त गर्दै यसलाई कार्यान्वयन गर्न विभाग तत्पर रहेको बर्ताएका छन् ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोरका अनसार सम्बन्धित निकायबाटप्राप्त सझावका आधारमा कार्यविधिलाई छिट्टै अन्तिम रूप दिइ कार्यान्वयनमा ल्याइने छ ।
अमेरिकी सहायता नियोग (युएसएड) का सन्तोष ज्ञवालीले यस कार्यविधि पुनर्निर्माण भएका घरका लागि मात्र नभएर नयाँ बन्ने घरहरुका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गरे। प्राधिकरणले माउघर (‘कोर हाउजिङ युनिट) पुनःनिर्माणका लागि रु तीन लाख अनुदान तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : ##राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, #breaking, #केन्द्रीय आयोजना कार्यान्वयन एकाइ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:16 am6:43 pm +0545