पुल निर्माणले मनाङको यात्रा सहज
मनाङ र लमजुङको सिमानामा रहेको म्यार्दी खोलामा मोटर चल्ने पुल निर्माण भएको छ ।
सडक डिभिजन कार्यलय तनहुँको आर्थिक लगानीमा क्यारवाहन कन्सलटेन्सी कम्पनीले रु दुई करोडमा सो पुल बनाएको हो । पुल बनेपछि मनाङ लमजुङको यात्रा सहज भएको छ । खोलामा बाढी आउने र यात्रु अलपत्र भएर बस्नुपर्ने समस्या हटेको छ ।
“अब त पुल बन्यो हाम्रो यात्रा सहज बन्यो, समयमा नै गन्तब्यमा पुग्न सजिलो भयो,”स्थानीयवासी पार्वती गुरुङको भनाइ छ । पुल नहुँदा खोलाले धेरै दुःख दिएको तीतो अनुभव सवारी चालक नेत्रबहादुर गुरुङले सुनाउनुभयो । “सानो देखेर खोलामा गाडी हाल्यो बीचमा अड्किएर खोलामै बसेँ । गाडी बिग्रिएर रु ५० हजार लगाएर मर्मत गरेँ । पुल बनेर सहज भएको छ, अब त्यस्तो समस्या हँुदैन ।”
बेँसीशहर – चामे सडकखण्डमा पर्ने यस खोलामा नेपाली सेनाले निर्माण गरेको बेलीबृज २०७२ साल असार ३१ गतेको बाढीले बगायो । त्यस बेला स्थानीयवासीको पहल र तत्कलीन जिल्ला विकास समिति मनाङको सहयोगमा काठको अस्थायी पुल बनाई सवारीसाधन आवतजावत नियमित गरियो ।
अस्थायी काठको पुल एक वर्ष पनि नटिकेपछि खोलाबाट नै सवारीसाधन आवतजावत गरिरहेका थिए । सडक डिभिजनसँग २०७५ असार मसान्तसम्ममा सम्पूर्ण काम सक्ने सम्झौता गरेर पुलको ठेक्का लिएको क्यारवाहन कन्सलटेन्सीले एक महिनापछि काम सम्पन्न गरेको छ ।
यस सडकखण्डमा पर्ने पिसाङ खोला, तिमाङ खोला सब्जेखोलामा अझै काम पूरा भएको छैन । लमजुङ र मनाङ जोड्ने मुख्य नाका नै म्यार्दी खोला भएकाले आफूहरुले यसलाई पहिलो प्राथमिकता दिएको कन्सलटेन्सीका इञ्जिनीयर नारायण लामाले बताउनुभयो । उहाँका अनुसार भौगोलिक विकटताका कारण समयमा काम सम्पन्न गर्न कठिन भएको र सम्झौताभन्दा ढिला हुन पुगेको हो ।
लामाका अनुसार यस सडकखण्डमा पर्ने तिमाङ खोला, पिसाङ खोला र स्यार्कु खोला पनि क्यारवाहन कन्सलटेन्सीले नै लिएको छ । रु २२ करोडमा मनाङका पाँच खोलामा मोटर चल्ने पुल निर्माण गर्ने जिम्मा लिएको हो । सबै खोलामा २०७५ असार मसान्तसम्ममा काम सकाउने सम्झौता छ ।
सम्झौताअनुसार काम भएन नि भन्दा कन्सलटेन्सीका प्रबन्ध निर्देशक चन्द्र थकाली भन्नुहुन्छ, “भौगोलिक विकटता नै प्रमुख कारण भएको र आफूहरुले समयमा काम थाले पनि हिउँदमा अत्यधिक चिसोले सिमेन्टको काम गर्न सकिएन ।” वर्षामा अत्यधिक पानी पर्ने र हिउँदमा काम गर्न नसक्नु ढिलाइको प्रमुख कारण रहेको बताइन्छ ।
उहाँले भन्नुभयो, “अब बाँकी रहेका खोलामा ७० प्रतिशत काम पूरा भइसकेको छ, दशैँतिहारको बीचमा सबै खोलामा पुल निर्माण गरी मनाङको सडकमा कुनै पनि खोलाले छेकथुन हुँदैन ।” यो सडकखण्डको प्रमुख समस्या बनेको म्यार्दी खोलामा पुल बनेपछि यात्रु र चालक सबैका लागि मनाङ यात्रा सहज बनेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मनाङको यात्रा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्