मण्डनदेउपुर नगरपालिकामा र एक अर्बको खानेपानी आयोजना
मण्डनदेउपुर नगरपालिकामा र एक अर्बको खानेपानी आयोजना स्वीकृत भएको छ । नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । यसका लागि स्थानीयवासीसँग उपभोक्ता समितिले प्रतिउपभोक्ता रु एक हजार व्यहोर्नुपर्ने नीति बनाएको छ ।
नगरसँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब रु एक करोड लगानी गर्ने सम्झौता गरिएको उपभोक्ता समिति अध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार खानेपानी आयोजना सम्पन्न गर्न हाल बोलपत्र आह्वान गरिएको छ । आयोजनाको बोलपत्रलगायत प्रारम्भिक चरणको प्रक्रियाका लागि हाल नगरले रु ५१ लाख ६६ हजार उपलब्ध गराएको नगरप्रमुख टोकबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार ठकेदार कम्पनीको छनोट गरी सम्झौतापछि खानेपानी आयोजना तीन वर्षभित्र सक्नुपर्ने योजना बनाइएको छ । खानेपानी आयोजनाबाट नौ वटा वडाका पाँच हजार ५०५ परिवार लाभान्वित हुनेछन् ।
नगरस्थित ७ नं वडाको सोते र १० नं को नारिमखर्क भएर बगेको इन्द्रावती नदीमा इनार बनाएर लिफ्टमार्फत नगरका बासिन्दामा खानेपानी उपलब्ध गराइने योजना बनाइएको विभागका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले बताउनुभयो । “यो लिफ्टिङ प्रविधिको खानेपानी आयोजना हो, यसले पाँच हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराउनेछ”, उहाँले भन्नुभयो ।
इन्द्रावती नदीको विभिन्न स्थानबाट लिफ्ट गरिएको खानेपानी नजिकको गाउँ र तेस्रो स्रोतबाट मुख्य ट्याङ्कीमा जम्मा गरी सम्पूर्ण उपभोक्तामा वितरण गर्ने प्रणालीको व्यवस्थापन गर्ने समितिले जनाएको छ । खानेपानी वितरणका लागि मुख्यसहित ३५ ट्याङ्की निर्माण गरिनेछ । स्थानीय प्राविधिकका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्भवेयर ट्याङकीमा प्रतिसेकेण्ड १३ दशमलव शुन्य पाँच लिटर पानी खस्नेछ ।
“विनाशकारी भूकम्पले पानीका मूल सुकाएपछि खानेपानीको समस्या झेलिरहेका यहँका बासिन्दाले केही वर्षमै खानेपानी अभावबाट उन्मुक्ति पाउनेछन्”, नगरका प्रवक्ता डिल्लीप्रसाद आचार्यले भन्नुभयो । काभ्रेपलाञ्चोकस्थित प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले खानेपानी आयोजनाका लागि आवश्यकीय रूपमा पर्याप्त बजेट उपलब्ध गराएको बताउनुभयो ।
“समयमै आयोजनाको सम्झौता गरेर जनशक्ति तयारीका साथ प्रारम्भ गरी निर्धारित समयमै सम्पन्न गर्नुपर्यो, अब आयोजनालाई बजेटको चिन्ता लिनुपरेन”, उहाँले भन्नुभयो । उहाँले मण्डनदेउपुर र पाँचखाल नगरमा बृहत् एकीकृत खानेपानी आयोजना सञ्चालन गरिएकाले एकदुई वर्षमै स्थानीयवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराइने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #मण्डनदेउपुर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्