Techie IT
बिहीबार, वैशाख २५,२०८२

आउने भयो मेलम्ची ,छाउने भयो खुशी


काठमाडौं । मेलम्चीको  खानेपानी सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झारिने भएको छ । आज दिउँसो आयोजनाको सुरुङबाट सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा पानी झारिने भएको हो । शुरुको पानीमा सुरुङभित्रको फोहोर समेत मिसिएर आउने भएकोले सुरुको पानी आज रातभर बागमती नदीमा बगाइने आयोजनाले जनाएको छ । ।

आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो  भने मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङ भित्रको ढोका बन्द गरेर सजगता अपनाइएको थियो । अहिले परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले बताएका छन् ।

सुन्दरीजलमा आज आइपुग्ने पानीको आज बेलुका ४ बजेपछि प्रधानमन्त्री केपी शर्मा वलीले अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ । यो सफल परीक्षणपछि अब तीन महिनाभित्र काठमाण्डौमा मेलम्चीको पानी उपलब्ध गराउने योजनामा सरकार छ । मेलम्चीको पानी आएसँगै काठमाडौं उपत्यकाभित्र अभाव रहेको खानेपानीको उपलब्धतामा केही सहजता हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : ##मेलम्चीको  खानेपानी, ##सुन्दरीजलमा झारिने, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Partly Cloudy
5:17 am6:42 pm +0545