सिंहदरबारका तीन मोहडा पुनःनिर्माण

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उ्दघाटन गर्नुहुने कार्यक्रम छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ ।
भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रबलीकरणमार्फत भवनलाई भूकम्पबाट सुरक्षितरूपमा पुनःनिर्माण गरिएको बताउनुभयो । “हामीले मौलिक संरचना तथा शैलीलाई कायम राखी भूकम्प प्रतिरोधी हुने गरी पुनःनिर्माण गरेका छौँ, अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा रहनेगरी हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मौजुदा सङ्गठन संरचनाअनुरूप कार्यकक्ष तथा बैठक कक्ष निर्माण गरिएको छ”, उहाँले भन्नुभयो ।
पुनःनिर्माण सम्पन्न भई उद्घाटन हुन लागेका मोहडा विसं २०३० को आगलागीमा परेपछि विसं २०३७ मा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको थियो । भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्रका अतिरिक्त कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणाली जडान गरिएको छ ।
सिंहदरबार पुनःनिर्माण कार्यान्वयन गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत् यी मोहडाको पुनःनिर्माणमा हालसम्म मूल्य अभिवृद्धि करबाहेक रु ८७ करोड खर्च भएको छ ।
उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीजस्तै सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ प्रयोग गरी पुरानै स्वरूप नबिग्रिने गरी प्रबलीकरण गरिएको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनी शर्मा–न्यू टेक्निकलले प्रथम चरणको काम गरेको हो भने शर्मा–माइक्रोटेक–न्यू टेक्निकल जेभीले दोस्रो चरणको काम गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सिंहदरबारका तीन मोहडा पुनःनिर्माण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्