मुगुको चामल सुर्खेतबाट गायब, चामल भक्तपुरमा भेटियाे
कात्तिक । मुगुका लागि ल्याउन लागिएको खाद्यान्न कर्णाली प्रदेशको राजधानी सुर्खेतमै गायब भएको छ । जिल्लाको उत्तरी भेग सोरु गाउँपालिकाको बिक्री केन्द्रका लागि आएको २ सय ५० क्विन्टल खाद्यान्न ठेकेदारको लापरबाहीका कारण सुर्खेत सुब्बाकुनाबाट गायब भएको हो ।
खाद्य संस्थानको चामल बिक्री गर्न लागिएको आशंकामा सुब्बाकुनाबाट सुर्खेत प्रहरीले ट्रकसहित चामल नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
सुर्खेतबाट बाहिर ढुवानी हुँदै गरेको शंकास्पद खाद्यान्न गत बिहीबार सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त चामल ट्रकबाट भक्तपुर लैजान लागिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टका अनुसार ट्रकमा २ सय ५० क्विन्टल चामल रहेको थियो ।
‘गाउँको चामल प्रदेश राजधानीमै गायब भएको खबर सुनेका छौं । दशैं जेनतेन चलायौं, अब तिहार कसरी मनाउने हो?’ –सोरु–८ का सोभुम बम बताउनुहुन्छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुका निमित्त कार्यालय प्रमुख पुष्कर भामले यसबारे भर्खरै मात्रै सूचना आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो चामल कहाँबाट आएको हो, कति छ, जानकारीमा छैन ।’
सोरुमा चामल पु¥याउने जिम्मा सिद्धार्थ ढुवानी सेवाले लिएको थियो । ठेकेदारहरुले सम्झौता गरेबमोजिम २० दिनभित्र सम्बन्धित स्थानमा पुग्नुपर्छ । कर्णाली प्रदेशको विकट मुगुका स्थानीयले वर्षैभर खाद्यान्न अभाव भोगिरहेका हुन्छन् । बीच बाटोमै खाद्यान्न गायब भएपछि प्रहरीको सक्रियतामा छानबिन अगाडि बढाइएको भामले बताउनुभयो ।
ना६ख ५७२१ नम्बरको ट्रकमा रहेको २ सय ५० क्विन्टल चामल आपूर्तिकर्ता वासुदेव शर्माले भक्तपुर पठाउन लागेको जानकारीमा आएको अनुसन्धानमा संलग्न कर्मचारीले बताएका छन् ।
उनले भने– ‘वीरेन्द्रनगरको दुर्गा भगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाएको भेटिएको छ । प्रतिकेजी ४२ रुपियाँका दरले बिल काटेको देखियो । विस्तृत छानबिनपछि सबै कुरा बाहिर आउला ।’ सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको समेत मिलेमतो हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले गत बिहीबार राती नै कागजपत्र नियन्त्रणमा लिएको थियो ।
प्रहरी र कम्पनीले नियन्त्रणमा लिइएको चामलबारे अनुसन्धान थालेको छ । कर्णालीका हिमाली जिल्ला पठाउनुपर्ने चामल आपूर्तिकर्ता ठेकेदारले भक्तपुर पठाउने गरेको खुलेको छ । कम्पनीसँग १६ असोजमा भएको सम्झौताअनुसार शर्माले जापानी चामल १ हजार क्विन्टल र अरुवा मोटा चामल १ सय क्विन्टल उठाएका थिए ।
‘मुगु पठाउनुपर्ने चामल भक्तपुर पठाउन लागेको प्रस्टै छ’, अनुसन्धानमा संलग्न ती कर्मचारीले भने– ‘कम्पनीको गोदामबाट उठाइएको अरू चामल कहाँ लगेर बेचियो भन्ने रहस्य बाहिर आउनै बाँकी छ ।’
यता सोरु गाउँपालिकाका बस्तीमा भने वर्षे अन्नबाली भित्रिए पनि तीन महिना मात्र खान पुग्ने बाँकी अवधि सरकारी अनुदानको चामलमै भर पर्नुपरेको सोरु गाउँपालिकाका स्थानीय बताउँछन् । वीरबहादुर बमले नेपाल समाचार पत्र दैनिकमा समाचार लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मुगुको चामल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्