राष्ट्रपतिद्वारा रानीपोखरी र दरबार हाइस्कूल उद्घाटन

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्दिर उद्घाटन गर्नुभएको हो । मन्दिर र रानीपोखरीका संरचना पुनःनिर्माणका लागि राष्ट्रपति भण्डारीबाट नै २०७२ माघ २ गते शिलान्यास गरिएको थियो । दुवै संरचना पुनःनिर्माणमा रु २८ करोड खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले रानीपोखरी, खुलामञ्च र टुँडिखेललाई समेत समावेश गरी प्राधिकरणले बनाएको बृहत्तर गुरुयोजना कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यान्वयनका लागि जनप्रतिनिधिको समेत सहयोग लिई काम गरिनुपर्ने उहाँको भनाइ थियो । गुरुयोजना कार्यान्वयनपछि ऐतिहासिक महत्वको सम्पदा क्षेत्र सुरक्षित हुने विश्वास गरिएको छ । रानीपोखरीसँगैको भानु मावि र संस्कृत माविसमेत पुरानै स्वरुपमा पुनःनिर्माण भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयतर्फ उत्कृष्ट शैक्षिक संस्थाका रुपमा यसको ऐतिहासिक स्थान रहेको बताउनुभयो । उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रिगण एवं विशिष्ट श्रेणीका कर्मचारीको उपस्थिति थियो ।
कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चार वर्ष नौ महिना तीन दिनमा रानीपोखरी वरिपरिको संरचनासहितबीचको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण सम्पन्न भएको जानकारी दिनुभयो । आगामी मङ्सिरसम्म सिंहदरबारको पूर्वी भागको प्रबलीकरण सकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सर्ने पनि उहाँले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकामा रहेका सात वटै विश्वसम्पदास्थलको गुरुयोजना तयार भएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले त्यहाँ भूकम्पले क्षति गरेका संरचनाको पुनःनिर्माणमा पनि तीव्रता दिइएको बताउनुभयो ।
बालगोपालेश्वर मन्दिरको प्राणप्रतिष्ठामा सहभागी भई राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीलगायत मन्त्रिगणले मन्दिर परिक्रमा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न तीर्थस्थलबाट ल्याइएको जल रानीपोखरीमा मिसाइएको थियो । तीन सय ५२ वर्षअघि हुँपोखरी निर्माण हुँदा देशविदेशका १०८ कुण्ड, ताल, पोखरी आदिबाट पानी ल्याइएको इतिहासमा उल्लेख छ ।
भूकम्पले भत्किएको भानु मावि र चीन सरकारको रु ८५ करोड अनुदान सहयोगमा पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटाले जानकारी दिनुभयो । नवनिर्मित विद्यालयको साँचो आयोजना निर्देशक सापकोटाले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख शाक्यले नवनिर्मित विद्यालयलाई शैक्षिक गुणस्तरका हिसाबले समेत नमूनाका रुपमा स्थापित गरिने प्रतिबद्धता जनाउनुभयो । चार तलाको विद्यालय भवनमा ४२ कोठा छन् । ‘फाएर फाइटिङ’, ‘सेक्युरिटी’, पुस्तकालय र प्रयोगशालाको व्यवस्थासमेत भवनमा छ । विसं १९१० मा थापाथली दरबारमा दरबारियालाई पढाउन स्थापना गरिएको विद्यालय पछि भवन बनाएर रानीपोखरीमा सारिएको थियो ।
विसं १९४८ देखि यहाँ संस्कृत माध्यमिक विद्यालय पनि सञ्चालनमा आएको हो । विद्यालयमा तीनधारा संस्कृत पाठशालामा बस्ने विद्यार्थी अध्ययन गर्दै आएका छन् । दरबार हाइस्कूललाई विसं २०२४ देखि भानु मावि नामकरण गरिएको हो । पुनःनिर्माणका क्रममा दुवै विद्यालयलाई प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ परिसरमा सारिएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले दरबार हाइस्कूल र रानीपोखरी परिसरमा स्थापित ताम्रपत्रको अनावरणसमेत गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रानीपोखरी र दरबार हाइस्कूल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्