प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल हुँदै
प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनुहुने छ । सांसदले धारणा राखिसकेपछि सरकारले पेश गरेको प्रस्ताव निर्णयार्थ पेश हुनेछ । यसरी छलफल र प्रस्ताव पेश गर्नका लागि प्रदेशसभाले तीन दिनको समय राख्ने गरी तयारी गरेको छ ।
सोमबार र मङ्गलबार छलफल चलाएर बुधबार निर्णयार्थ पेश गर्ने तयारी सदनको छ । प्रदेशसभा राजधानीसम्बन्धी निर्णयलाई अबको तीन दिनभित्र सक्ने गरी आन्तरिक तयारीमा जुटेको छ । कार्यविधिअनुसार संशोधन प्रस्ताव र सांसदले धारणा राख्न माग गर्ने समयअनुसार छलफल कति लामो हुने भन्ने तय हुने छ । राजधानीको प्रस्तावमाथि छलफल सकिएको भोलिपल्ट नै प्रदेशसभाले राजधानी र नामकरण टुङ्ग्याउने छ । प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार प्रस्तावका पक्षमा दुई तिहाई नपुगेका खण्डमा भने संशोधन प्रस्तावमाथि मतदान हुने छ ।
मतदानका लागि सम्पूर्ण तयारी गरिएको छ । प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि संशोधन पेश गर्नका लागि १८ घण्टाको समय निर्धारण गरिएको छ । यही असोज १६ गते प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो । उक्त प्रस्ताव पारित गर्नका लागि निर्माण गरिएको प्रदेश न ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावसम्बन्धी आन्तरिक कार्यविधि, २०७७ मा प्रस्तावमाथि छलफल समाप्त भएको १८ घण्टाभित्र चित्त नबुझेका प्रदेशसभा सदस्यले संशोधन पेश गरिसक्नुपर्ने नियम बनाइएको छ । सामान्यतया विधेयकका लागि भने संशोधन प्रस्तावका लागि ७२ घण्टाको समय दिइने प्रचलन भए पनि सभामुखले अधिकार प्रयोग गर्दै १८ घण्टाको मात्रै समय दिनुभएको छ ।
प्रस्ताव पारित हुनका लागि प्रदेशसभामा रहेका ८७ सांसदमध्ये ५८ जनाको पक्षमा मत चाहिन्छ । संविधानले प्रदेशसभाका कुल सदस्यको दुई तिहाइ मतले प्रदेश राजधानी तोक्ने र नामकरण गर्न सकिने उल्लेख गरेको छ । एकसठ्ठी सांसद रहेको नेकपा संसदीय दलका सबै सदस्यले सरकारको प्रस्तावमा मतदान गरेमा राजधानी दाङ सर्ने पक्का हुनेछ । कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । बाँके र बर्दियामा स्वागत प्रदेश ५ को अस्थायी राजधानी सार्ने प्रस्ताव सभामा पेश भएपछि रुपन्देहीमा आन्दोलन चर्किएको छ ।
दाङलगायत बाँके र बर्दियामा भने राजधानी सार्ने प्रस्तावको स्वागत भएको छ । दाङ, बाँके, बर्दियामा सत्तारुढ र प्रतिपक्षी दलले नै स्वागत गर्दा रुपन्देही, गुल्मी, पाल्पामा भने विरोध भएको छ । स्थायी राजधानीको विषयलाई लिएर प्रतिपक्षी नेपाली काङ्ग्रेस सडक आन्दोलनमा छ । संयुक्त सङ्घर्ष समिति र काङ्ग्रेसले आज प्रदेशसभा भवन घेराउको कार्यक्रम राखेका छन् । प्रदेशसभा घेराउ हुने भएपछि प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रदेश ५, #राजधानी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्