मेलम्चीको पानी आउन अझै तीन महिना लाग्ने
बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ ।
आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ । खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परीक्षण गर्ने लक्ष्य लिएको थियो । अगामी दशैँसम्ममा उपत्यकावासीको घरघरमा पानी पु¥याउने लक्ष्य लिइएको भए पनि गत महिना भएको अकल्पनीय दुर्घटनाले यसलाई तीन महिना पर धकेलेको मन्त्रालयले जनाएको छ । गत महिनामा सुरुङ परीक्षणका क्रममा गेट भत्किएर दुर्घटना भएको थियो । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेटभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।
सोही आधारमा त्रुटि सच्चाउन लागिएको हो । मानवीय क्षतिसमेत हुने गरी भएको सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता र निर्माण व्यवसायीको रहेको छ । इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो । आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो । समितिले गेटको फ्रेम नयाँ राख्नुपर्ने सुझाव दिएको छ ।
भारतीय कम्पनी पिआइएल निर्माणस्थल आएर हेरेर गइसकेको छ । कम्पनीसँग नयाँ गेट बनाउने गरी आयोजनासँग सहमति भएको थियो । कम्पनीले फ्रेम बनाएर ल्याएपछि पनि त्यसको जडान गर्न समय लाग्ने बताएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार झण्डै २८ दिन फ्रेम त्यहाँ जोडिनका लागि समय लाग्नेछ । उनले भने, “यसैका आधारमा पनि कात्तिक मङ्सिरभन्दा पहिले पानी परीक्षण गर्न नसकिने देखिएको छ ।” सो गेटभित्रबाट खोल्ने गरी जडान गर्ने डिजाइन भए पनि बाहिरबाट खोल्ने गरी जडान भएको पाइएको थियो । अब गेट त्यही रहने र फ्रेम मात्रै भत्काएर नयाँ जडान गरिनेछ । फ्रेम जडानका लागि सुरुङभित्र आबश्यक पर्ने संरचना निर्माणको कामसमेत अघि बढाइने भएको छ । सो फ्रेम र गेटको अध्ययनका लागि परामर्शदता कम्पनीले थप विज्ञ ल्याउने तयारी गरेपनि धेरै जिल्लामा जारी भएको निषेधाज्ञाका कारण उनीहरु आउन सकिरहेका छैनन् ।
आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको बताइएको छ । समितिले पछिल्लो समयमा प्राविधिक ‘डिजाइन रिभ्य’ नभएको पनि बताएको थियो । समितिले सुरुङमा रहेका चारवटै गेटमा पुनःअवलोकन रिभ्यू गर्न पनि सुझाव दिएको थियो । गेटमा नटबोल्ट राम्रो नकसिएको पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजना निर्माणस्थलमा दुर्घटना भएको थियो । आयोजनाले १० दिनसम्म जम्मा गरेको पानी बाहिर निस्केको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मेलम्ची खानेपानी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्