Techie IT
सोमबार, असोज ५,२०८३

तारकेश्वर कांग्रेस नगर सभापतिमा चार जनाको चर्चा , को को ?


तारकेश्वर, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तारकेश्वर नगर अधिवेशन आगामी बुधबार हुँदैछ। नगर सभापतिका लागि चार जनाको नाम चर्चामा आएको छ।

कांग्रेस वृत्तमा भइरहेको चर्चाअनुसार नगर सभापतिका आकांक्षीमा लक्ष्मीराज भण्डारी, श्यामकृष्ण सापकोटा, परशुराम अर्याल र निर्मल लामा रहेका छन्।

गत अधिवेशनमा नगर उपसभापति पदमा चार मतको अन्तरले पराजित भएका पत्रकार तथा सामाजिक अभियान्ता भण्डारी यसपटक नगर सभापतिका लागि तयारीमा रहेको बताइएको छ।

त्यस्तै, भण्डारी सहित वडाध्यक्षसमेत रहेका श्यामकृष्ण सापकोटा मेयर कृष्णहरि महर्जन, नेता विष्णुभक्त तिमिल्सिना र श्याम खड्की पक्षबाट सभापतिका सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्। अर्का वडाध्यक्ष परशुराम अर्याल र जिल्ला सदस्य निर्मल लामा भने नेता श्रीराम थापा तथा उपमेयर सिर्जना बुर्लाकोटी पक्षबाट अघि सारिएका सम्भावित उम्मेदवार रहेको कांग्रेस स्रोतको भनाइ छ।

स्रोतका अनुसार काभ्रेस्थलीमा मात्रै ५१ जना प्रतिनिधि रहेका छन्। नेता श्यामकृष्ण खड्कीले आफ्नै वडाबाट नगर सभापति बनाउन चाहेको पनि स्रोतको दाबी छ।तारकेश्वर नगरपालिकामा संगठनका हिसावले भने श्यामकृष्ण प्यालन बलियो मानिन्छ ।

तारकेश्वरका १० वटै वडामा वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भइसकेको छ। अब नगर सभापति चयनका लागि हुने अधिवेशनलाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ।

यसैबीच, कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभरको वडा अधिवेशन आज औपचारिक रूपमा सम्पन्न हुँदैछ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले स्थानीय अनुकूलताअनुसार हिजो र आज वडा अधिवेशन गर्न सकिने कार्यतालिका सार्वजनिक गरेको थियो।

निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडा अधिवेशनमा भाग लिन पाउनेछन्।

वडा अधिवेशनबाट वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव तथा वडा कार्यसमिति सदस्य निर्वाचित हुने व्यवस्था छ। केही स्थानबाहेक अधिकांश वडामा आजै अधिवेशन सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #को को ?, #तारकेश्वर कांग्रेस नगर सभापतिमा चार जनाको चर्चा


तपाईको कमेन्ट लेख्नुहोस्