कांग्रेसको वडा अधिवेशन आज दोस्रो दिन सकिँदै, विभिन्न तहमा फरक प्रतिनिधित्वको व्यवस्था
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज औपचारिक रूपमा सम्पन्न हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले स्थानीय अनुकूलताअनुसार हिजो र आज वडा अधिवेशन गर्न सकिने कार्यतालिका सार्वजनिक गरेपछि वडा तहको अधिवेशन आज सकिन लागेको हो।
कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडा अधिवेशनमा सहभागी हुन पाउनेछन्।
वडा अधिवेशनमा सम्बन्धित वडाका क्रियाशील सदस्य सदस्य रहने व्यवस्था छ। अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव तथा वडा कार्यसमिति सदस्य निर्वाचित गर्नेछ। केही स्थानबाहेक अधिकांश वडामा आजै अधिवेशन सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ।
भोटेकोशी बाढीबाट प्रभावित जिल्लाका केही क्षेत्रमा भने यस चरणमा वडा अधिवेशन नहुने भएको छ।
कांग्रेसको विधानअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाअन्तर्गतका वडाबाट निर्वाचित वडा सभापतिले निर्वाचित वडा कार्यसमितिबाट कोषाध्यक्ष मनोनीत गर्न पाउने व्यवस्था छ।
गाउँपालिकाअन्तर्गतको वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्षमुनिका एक युवासहित सात जना वडा सदस्य निर्वाचित हुनेछन्। नगरपालिका र उपमहानगरपालिकाका वडामा भने दुई महिला, एक दलित र ३० वर्षमुनिका दुई युवासहित आठ जना सदस्य निर्वाचित हुने व्यवस्था छ।
त्यस्तै, महानगरपालिकाको वडा अधिवेशनबाट कम्तीमा तीन महिला, एक दलित र ३० वर्षमुनिका तीन युवासहित ११ जना वडा सदस्य प्रत्यक्ष निर्वाचित हुने निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिए।
वडा सभापतिलाई सदस्य मनोनीत गर्ने अधिकार पनि स्थानीय तहअनुसार फरक रहेको छ। गाउँपालिका वडा सभापतिले पाँच, नगरपालिका तथा उपमहानगरपालिका वडा सभापतिले छ र महानगरपालिका वडा सभापतिले सात जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था कांग्रेस विधानमा छ।
वडा कार्यसमितिमा कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था छ। साथै समावेशी सिद्धान्तअनुसार विभिन्न समुदाय, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा युवाको प्रतिनिधित्वलाई ध्यानमा राखी क्रियाशील सदस्यमध्येबाट वडा सदस्य मनोनीत गर्नुपर्ने प्रावधान रहेको संयोजक खड्काले बताए।
कांग्रेस विधानअनुसार वडा कार्यसमितिको बैठक प्रत्येक महिना कम्तीमा एकपटक बस्नुपर्ने व्यवस्था छ। आवश्यकताअनुसार क्षेत्रीय अधिवेशनका प्रतिनिधिलाई बैठकमा आमन्त्रण गर्न सकिनेछ।
त्यसैगरी, वडा कार्यसमितिले मातहतका टोल कार्यसमितिका सभापतिलाई आफ्नो बैठकमा अनिवार्य रूपमा आमन्त्रण गर्नुपर्ने व्यवस्था छ। विधानले एउटै व्यक्ति क्षेत्रीय अधिवेशन प्रतिनिधि र गाउँपालिका वडा कार्यसमितिको सदस्यका रूपमा रहन सक्ने प्रावधानसमेत गरेको छ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #कांग्रेसको वडा अधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्