Techie IT
बुधबार, वैशाख ३०,२०८३

एमाले अध्यक्ष केपी ओली हटाउन पार्टीभित्र तीन गुट सक्रिय


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नेतृत्व हस्तान्तरणको दबाब तीव्र बन्दै गएको छ। पार्टीभित्र ओलीको विकल्प खोज्ने प्रयाससँगै नयाँ शक्ति–समीकरण निर्माण हुन थालेको छ।

ओली निकट मानिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समेत नेतृत्व परिवर्तनको पक्षमा देखिएका छन्। अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल समूह पनि अहिले विष्णु–शंकर पक्षसँग नजिकिएको बताइन्छ। उता पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी ले ओलीको सम्मानजनक बहिर्गमनसहित पार्टी पुनर्गठनको एजेन्डा अघि सारेकी छन्।

२१ फागुनको निर्वाचनमा एमाले नेतृत्वले अपेक्षाविपरीत कमजोर नतिजा भोगेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ। चुनावी हार, नेतृत्वप्रतिको बढ्दो वितृष्णा र नयाँ पुस्ताको राजनीतिक सक्रियताले एमालेभित्र पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहसलाई थप तीव्र बनाएको छ। यद्यपि ओलीको स्वास्थ्य अवस्थाका कारण केन्द्रीय कमिटी बैठक अझै बस्न सकेको छैन, र बैठक कम्तीमा अर्को एक महिना पछि मात्र हुने सम्भावना रहेको बताइएको छ।

पार्टीभित्र अहिले नयाँ गठबन्धन निर्माणको संकेत देखिएको छ। विष्णु, शंकर, विद्या र ईश्वर निकट समूहहरू एकै धारमा उभिन थालेपछि आगामी केन्द्रीय कमिटी बैठकमै नेतृत्व परिवर्तन र संगठन पुनर्गठनको प्रस्ताव ल्याउने तयारी भइरहेको स्रोतहरूको दाबी छ।

युवा तथा विद्यार्थी नेताहरू पनि पुनर्गठनको मागमा सक्रिय भएका छन्। नेपाल कमर्स क्याम्पस, मीनभवनमा आयोजित भेलामा ओलीको बहिर्गमनपछि मात्रै संगठनात्मक पुनर्संरचनाको प्रक्रिया अघि बढ्न सक्ने निष्कर्ष निकालिएको थियो। कार्यक्रममा विष्णु र शंकर निकट नेताहरूको पनि सहभागिता रहेको बताइएको छ।

भेलामा नेपाल बुद्धिजीवी परिषद् का अध्यक्ष गजेन्द्र थपलिया ले ‘नेकपा एमाले पुनर्जागरण, रूपान्तरण र पुनर्संरचना मार्गचित्र, २०८३’ शीर्षकको अवधारणापत्र प्रस्तुत गरेका थिए। त्यस्तै राष्ट्रिय युवा संघका पूर्वउपाध्यक्ष रोशन बस्नेत ले अध्यक्षको सम्मानजनक बहिर्गमनपछि मात्रै पार्टी पुनर्गठनको ढोका खुल्ने धारणा राखेका थिए।

उनका अनुसार केन्द्रीय, प्रदेश र जिल्ला कमिटीहरू विघटन गरेर अन्तरिम संगठन कमिटीमार्फत पुनर्गठन अभियान अघि बढाउँदै विशेष महाधिवेशनतर्फ जानुपर्ने प्रस्तावमा छलफल भएको थियो।

यसैबीच, विष्णु र शंकरसहितका नेताहरूले अध्यक्ष ओलीसँग भेट गरी जिल्ला तथा प्रदेश तहबाट आएको समीक्षा प्रतिवेदनका आधारमा राजीनामाको माग उठिरहेको जानकारी गराएको स्रोतले जनाएको छ।

यद्यपि ओलीपछि नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा भने नेताहरू सार्वजनिक रूपमा मौन छन्। विद्या, ईश्वर, विष्णु र शंकर पक्ष अहिलेका लागि नेतृत्व परिवर्तनको साझा एजेन्डामा एकजुट भएर अघि बढ्ने रणनीतिमा देखिएका छन्। ओलीले स्वेच्छाले पद नछाडे हस्ताक्षर अभियानदेखि विशेष महाधिवेशनसम्म जाने विकल्पबारे पनि आन्तरिक छलफल भइरहेको बताइएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #एमाले अध्यक्ष केपी ओली हटाउन पार्टीभित्र तीन गुट सक्रिय


तपाईको कमेन्ट लेख्नुहोस्