विशेष महाधिवेशन पक्षधरको दबाब: १६५ क्षेत्रमा उम्मेदवारी, ६६ सिट सुनिश्चित गर्नुपर्ने
काठमाडौँ । नेपाली कांग्रेसमा सहमति खोज्ने प्रयास जारी छ । विशेष महाधिवेशन पक्षधरले अघि सारेका प्रस्तावमाथि सोमबार रातभर छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेको छैन । वार्तामा संलग्न नेताहरूले सहमतिको प्रयास अझै जारी रहने बताएका छन् ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको तेस्रो दिन आज बन्दसत्रबाट महामन्त्रीहरूको प्रतिवेदनमाथि छलफल तथा पारित, विधान संशोधन, निर्वाचन समिति लगायतका समितिहरू भंग गरी नयाँ गठन र निर्वाचन कार्यक्रम अघि बढाउने कार्यसूची रहेको छ । नयाँ नेतृत्व चयनको तयारी भइरहँदा सहमति भने ‘पावर सेयरिङ’मै अड्किएको छ ।
विशेष महाधिवेशन पक्षधरले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो समूहको सम्मानजनक र न्यायोचित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग राखेका छन् । संसदीय बोर्ड र निर्वाचनमा कम्तीमा ४० प्रतिशत टिकट सुनिश्चित गर्नुपर्ने उनीहरूको अडान छ । वार्तामा सहभागी एक नेताका अनुसार ४० प्रतिशत प्रतिनिधित्वको अर्थ कम्तीमा ६६ सिट विशेष महाधिवेशन पक्षधरले पाउनुपर्ने हो ।
ती नेताले विशेष महाधिवेशन पक्षधरले अबको निर्वाचनमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने अडान लिएको बताए । तालमेल बिना १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिनुपर्ने र तीमध्ये कम्तीमा ४० प्रतिशत उम्मेदवार विशेष महाधिवेशन पक्षधर हुनुपर्ने माग गरिएको छ ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले संस्थापन पक्षबाट महाधिवेशन प्रतिनिधिहरूको अपमान भएको भन्दै सहमतिका लागि सम्मानजनक व्यवहार न्यूनतम शर्त भएको बताएका छन् । संसदीय बोर्ड र प्रत्यक्ष निर्वाचन दुवैमा बलियो उपस्थिति आवश्यक रहेको उनीहरूको भनाइ छ ।
एक विशेष पक्षधर केन्द्रीय सदस्यले गगन थापा–विश्वप्रकाश शर्मा समूह र डा. शेखर कोइरालाको समूहलाई अलग रूपमा हेर्नुपर्ने बताए । उनका अनुसार डा. कोइराला अब संस्थापनकै हिस्सा भइसकेकाले उनको व्यवस्थापन संस्थापन पक्षले नै गर्नुपर्ने हो । ‘विशेष महाधिवेशन पक्षधर कांग्रेसभित्रको अलग शक्ति हो भन्ने स्वीकार गर्नुपर्छ,’ उनले भने ।
यसका साथै विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको स्वामित्व लिने, महाधिवेशनका निर्णयहरू स्वीकार गर्ने, पार्टी सुधारका लागि महामन्त्रीहरूले अघि सारेका प्रस्तावहरू कार्यान्वयन गर्ने लगायतका मागसमेत अघि सारेका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #विशेष महाधिवेशन पक्षधरको दबाब
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्