Techie IT
सोमबार, असार ८,२०८३

तारकेश्वर नगरपालिका २ मा संगठनबाटै वडाध्यक्ष जित्छु : भण्डारी


काठमाडौं । आगामी वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुने भएको छ । उक्त निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुको दौडधुप चलेको छ ।

सोही क्रममा काठमाडौंस्थित तारकेश्वर नगरपालिका–२ (साविकको काभ्रेस्थली) बाट लक्ष्मीराज भण्डारीले वडाध्यक्षको उम्मेदवारी दिने तयारी छ । यसैपनि वडामा लोभलाग्दो जनसमर्थन रहेका भण्डारी अहिले यसकै दौडधुप र माहोल बनाउन लागिपरेका छन् ।

वडाध्यक्षका लागि उनीसँगै वहालवाला इकाई सभापति रामहरि कार्की र गत निर्वाचनमा पराजय ब्यहोरेका प्रत्यासी राधाकृष्ण खड्गीले समेत दाबी गरेका छन् । यी बाहेक अरू पनि केही आकांक्षी देखिएपनि कांग्रेसका तर्फबाट यीनै तीन जना मुख्य दाबेदार हुन् ।

अहिले पार्टीले स्थानीयस्तरकै सामाजिक व्यक्तिलाई प्राथमिकता दिने परिपत्र गरेको छ । त्यसमा पढेलेखेका रूपान्तरित युवाहरूलाई जनताले मन पराइरहेका छन् । यसैकारण पनि उनी आफूलाई बलियो दाबेदारका रुपमा प्रस्तुत गरिरहेका छन् ।

यस पटकको निर्वाचनमा युवा व्यक्तिहरुको दबदबा र सक्रियताले थप जोसिलोपंक्ति नेतृत्वमा आउने पक्का छ । युवा पंक्तिको आकर्षण र वडादेखि महानगरपालिकासम्म लगातार आइरहेका उम्मेदवारीले नेतृत्व हत्याउन युवाहरु लागिपरेको पाइएको छ । यसैको एक उदाहरण हुन् भण्डारी ।

झण्डै डेढ दशकदेखि सञ्चारकर्मीको रुपमा काम गर्दै आएका भण्डारीले निर्वाचनको प्रमुख अभीष्ट स्थानीय लोकतन्त्रको सुदृढीकरण, स्थानीय स्वशासनको सबलीकरण, स्थानीय सुशासन र विकासको प्रत्याभूति नै हो र हुनुपर्दछ भन्ने मान्यता राख्दछन् । केन्द्रदेखि वडातहसम्मै रुपान्तरित पुस्ता आउन आवश्यक रहेको बताउने भण्डारी वडाध्यक्षका आकांक्षी हुन् ।

राजनीतिक रुपमा भण्डारी नेपाली कांग्रेसका सक्रिय नेता हुन् । सञ्चार पेशाबाट राजनीतिमा होमिएका भण्डारीले अहिले नेपाली कांग्रेस जनताको प्रिय पार्टी रहेकोमा दुईमत देख्दैनन् ।

तथापी विगतमा स्वार्थ र गुटगत राजनीतिले थलिएपछि जनआकर्षण जोगाउन धौधौ परेको बताउने भण्डारी अबको निर्वाचनमा एक ढीक्का भएर जानुपर्ने बताएका छन् । र यसका लागि रुपान्तरित र पढेलेखेका युवा पुस्ता नै अघि सर्न जरुरी रहेको निष्कर्षमा उनी पुगेको बताउँछन् ।

शैक्षिक हिसावले पत्रकारितामा स्नातकोत्तर गरेका भण्डारीले तारकेश्वरको नेतृत्वमा पढेलेखेका र बुद्धिजिविहरुको अभाव रहेको बताए । पार्टीको नेतृत्वदायी स्थानमा समेत पढेलेखेका व्यक्तिहरु अभाव रहेकोमा उनको चिन्ता छ ।

उनले भने, ‘प्रजातन्त्र र लोकतन्त्रको पहरेदार गौरवशाली इतिहास बोकेको कांग्रेस विस्तारै धनवान् र बलवानहरुको कब्जामा परेको छ, पार्टीमा पढेलेखेका र बौद्धिक व्यक्तिहरुको आवश्यकता देखियो । किनकी धनवान र बलवानले पार्टी संगठनलाई छियाछिया बनाए ।’

अहिले पार्टीले आफ्ना उम्मेद्वार पठाउँदा कसैलाई काखापाखा नगरी स्थानीय परिवेश बुझेको र जनताका मुद्दा सम्बोधन गर्ने सक्ने अठोट लिएको व्यक्तिलाई पठाउँछ भन्नेमा उनी विश्वस्त देखिन्छन् । न कि गुट र नाताभन्दा पनि साझा उम्मेद्वार दिन सके मात्र काँग्रेसले जित्न सक्ने भएकाले आफू साझा उम्मेदवार भएको उनको दाबी छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्